टेक्सस । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बाढीपहिरो पीडित राहत कोष स्थापना गर्ने भएको छ ।
नेपालका बाढीपहिरोजस्ता विपद्जन्य घटनाका पीडितको सहयोगार्थ कोष स्थापना गर्न लागिएको संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिए ।
विश्वभर रहेका नेपालीसँग कोषमा सहयोग गर्नका लागि आग्रह गर्दै उनले यही साउन महिनासम्म राहत संकलन गरिसकेर वितरण गरिने बताए ।
कोषमा सहयोग रकम जम्मा गराउनका लागि विभिन्न देशमा रहेका संघका राष्ट्रिय समन्वय परिषद्लाई पनि आग्रह गरिएको उनले उल्लेख गरे ।
कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय समन्वय परिषद्को बैंक खातामा वा सीधै आइसिसीको खातामा सहयोग रकम जम्मा गर्नसक्ने संघले जनाएको छ ।
नेपालका विभिन्न क्षेत्रमा आएको वर्षासँगै गएको बाढीपहिरो र डुबानका कारण मृत्यु, घाइते तथा केही हराइरहेका छन् । सयौँ परिवार विस्थापित भएका छन् । रासस






प्रतिक्रिया