बिश्व घटना

कोरोनाबाट विश्वभर एक करोड २२ लाख ५१ हजार संक्रमित

कोरोनाबाट विश्वभर एक करोड २२ लाख ५१ हजार संक्रमित


मेरील्याण्ड । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक करोड २२ लाख ५१ हजार २७ पुगेको छ ।
 
जोन हकिन्स विश्वविद्यालयले बिहीबार दिएको जानकारीअनुसार सङ्क्रमित भएकामध्ये विश्वभरी पाँच लाख ५४ हजार जनाको मृत्यु भएको छ ।
 
चिनियाँ सहर वुहानमा सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बरमा पत्ता लागेको कोभिड–१९ हाल विश्वभर महामारीका रूपमा फैलिएको छ । 
 
कोरोनाका कारण सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा कोरोनाका कारण मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सङ्ख्या सबैभन्दा धेरै रहेको छ । 
 
अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख ३५ हजार १५२ जनाको मृत्यु भएको छ । त्यसैगरी ३१ लाख ७४ हजार १४१ जना सङ्क्रमित भएका छन् ।  
 
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गत मार्चदेखि कोरोनाको महामारी फैलिएको घोषणा गरेको थियो । 
 
दोस्रो धेरै प्रभावितको सूचीमा ब्राजिल भएको छ । ब्राजिलमा १७ लाख १९ हजार ६६० जना सङ्क्रमित भएका छन् भने ६८ हजार ८९ जनाको मृत्यु भएको छ । बेलायत, फ्रान्स, इटली, स्पेन, भारत, रूस र पेरू बढी प्रभावित मुलुकहरूमध्ये रहेका छन् । एएनआई