नयाँ दिल्ली । विश्व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या भारतमा छ लाख नाघेको छ ।
सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोना भाइरसबाट ६ लाख ३ हजार ९९० जना सङ्क्रमित भएका छन् ।
तीमध्ये पछिल्लो २४ घन्टामा मात्रै १८ हजार ६५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दुई लाख २६ हजार ८१४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।
कुल सङ्क्रमितमध्ये तीन लाख ५९ हजार ३५४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म १७ हजार ८२२ जनाको मृत्यु भइसकेको छ । तीमध्ये ५०७ जनाको मृत्यु पछिल्लो २४ घन्टामा भएको हो ।
प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा धेरै सङ्क्रमित महाराष्ट्रमा देखिएका छन् । त्यहाँ कुल सङ्क्रमितको संख्या एक लाख ७४ हजार ७६१ पुगेको छ । त्यसैगरी तमिलनाडुमा ९० हजार १६७ जना सङ्क्रमित भएका छन् ।
अधिकारीहरुका अनुसार तमिलनाडुमा एक हजार २०१ जनाको मृत्यु भएको छ भने दिल्ली प्रदेशमा ८७ हजार ३६० जना सङ्क्रमित भएका छन् । एएनआई







प्रतिक्रिया