बिश्व घटना

कोरोनाबाट विश्वभर पाँच लाख १६ हजार बढीको मृत्यु, ५८ लाख ५० हजार डिस्चार्ज

कोरोनाबाट विश्वभर पाँच लाख १६ हजार बढीको मृत्यु, ५८ लाख ५० हजार डिस्चार्ज


पेरिस । कोरोना भाइरसबाट विश्वभर संक्रमित भएकामध्ये बुधबार रातिसम्ममा पाँच लाख १६ हजार ३०६ जनाको मृत्यु भएको छ । 
 
विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको पछिल्लो विवरणअनुसार संसारभर मृत्यु भएकाहरुको संख्या पाँच लाख १६ हजार २९७ पुगेको हो । 
 
विश्वभरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५८ लाख ५० हजार ८५२ पुगेको छ भने संक्रमितहरुको कुल संख्या एक करोड ६ लाख ८२ हजार २४३ नाघेको छ । 
 
कुल सङ्क्रमितहरुको संख्यामध्ये सबैभन्दा धेरै अमेरिकामै रहेको पाइएको छ । अमेरिकामा अहिलेसम्म २७ लाख ४६ हजार ३६९ जना सङ्क्रमित भएका छन् । कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३० हजार ३६५ पुगेको छ । 
 
कोरोनाबाट दोस्रो धेरै प्रभावित हुने देशमा अहिले ब्राजिल भएको छ । सुरुमा प्रभावितको सूचीमा पछाडि नै रहेको ब्राजिल अहिले अग्रस्थानमा छ । ब्राजिलमा अहिलेसम्म १४ लाख २६ हजार ९१३ जना सङ्क्रमित भएका छन् भने ६० हजार १९४ जनाको मृत्यु भएको छ ।
 
त्यसैगरी तेस्रो धेरै प्रभावित भएको रुसमा छ लाख ५४ हजार ४०५ जना सङ्क्रमित हुँदा नौ हजार ५३६ जनाको मृत्यु भएको छ । 
 
सङ्क्रमितहरुको संख्याका आधारमा चौँथोमा भारत, पाँचौँमा बेलायत, छैठौँमा स्पेन, सातौँमा पेरु, आठौँमा चिली, नवौँमा इटाली र दशौँमा इरान रहेका छन् । 
 
कोरोनाका कारण विश्वभरी सङ्क्रमितहरुको संख्यामा कमी नआए पनि लकडाउन खुकुलो हुँदा मानवीय गतिविधिहरुमा वृद्धि हुन थालेको छ । एएफपी