नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितहरुको दैनिक संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै संक्रमित भएको देखाएको छ ।
अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा कोरोना भाइरसबाट १८ हजार १८५ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा कोरोनाबाट कुल संक्रमितको संख्या ५ लाख ६ हजार ९७२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
त्यसैगरी कोरोनाकै कारण भारतमा अहिलेसम्म १५ हजार ६६२ जनाको मृत्यु भएको छ । तीमध्ये ४०७ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको हो ।
उनीहरुले भारतमा अहिले पनि एक लाख ९६ हजार ३२२ जना संक्रमित अवस्थामै रहेको जानकारी दिएका छन् । त्यसैगरी अरु दुई लाख ९४ हजार ९८८ जना संक्रमणमुक्त भएका छन् । यो तथ्यांकअनुसार कुल संक्रमितमध्ये ५८.२४ प्रतिशत बिरामी संक्रमणमुक्त भएका छन् । यसलाई सरकारी अधिकारीहरुले सकारात्मक संकेतका रुपमा व्याख्या गरेका छन् ।
पछिल्लो २४ घन्टामा कोरोनाका कारण मृत्यु भएकामध्ये सबैभन्दा धेरै महाराष्ट्र प्रदेशका रहेका छन् । महाराष्ट्र प्रदेशमा मात्रै एक दिनमा १९२ जनाको मृत्यु कोरोनाकै कारण भएको छ ।
त्यसैगरी केन्द्रीय राजधानी समेत पर्ने दिल्ली प्रदेशमा ६४ जना, तमिलनाडुमा ४५ जना, गुजरातमा १८ जना, पश्चिम बंगाल र उत्तर प्रदेशमा १५÷१५ जना, आन्द्र प्रदेशमा १२ जना, हरियाणामा १० जना, मध्य प्रदेशमा आठ जनाको पनि पछिल्लो २४ घन्टामा मृत्यु भएको छ ।
मन्त्रालयकाअनुसार पञ्जाबमा सात जना, कर्नाटकमा छ जना, तेलङ्गनामा पाँच जना, राजस्थानमा चार जना र जम्मु कास्मिरमा दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ । पिटिआई
प्रतिक्रिया