मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बिहारमा चट्याङ् लागेर मृत्यु हुनेको संख्या ९२ पुग्यो

बिहारमा चट्याङ् लागेर मृत्यु हुनेको संख्या ९२ पुग्यो


पटना , भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गए रातिको सो चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि ९२ जनाको ज्यान गएको अधिकरीहरुले जानकारी दिएका छन् । 
 
हिजोमात्र यसबाट ८३ जनाको ज्यान गएको बताइएको थियो । शुक्रबार बिहानसम्म यो संख्या ९२ पुगेको बिहारको विपद व्यवस्थापन केन्द्रले जानकारी दिएको हो । भारतीय सञ्चार मध्यमहरुका अनुसार बिहार राज्यका २१ जिल्लामा बिहीबार साँझदेखि रातिसम्म चट्याङ परेको थियो ।
 
सबैभन्दा धेरै बिहारको गोपालगञ्ज जिल्लामा १३ जनाको मृत्यु भएको छ । यस्तै नवादा र पश्चिमी चम्पारण जिल्लामा आठ, आठ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
 
बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा ७२ घण्टाका लागि मौसमी चेतावनी जारी गरिएको थियो । भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो । 
 
मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो ।
 
बिहारमा समय समयमा पर्ने गरेको चट्याङ्बाट ठूलो संख्याका नागरिकको ज्यान जाने गरेको पाइएको छ । 
 
बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार ४ लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् । 
 
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार भारी वर्षा र यसपछि परेको चट्याङ लागेर मृत्यु भएकाहरुको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
 
उनले सामाजिक सञ्जाल, ट्वीटरमार्फत बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । एएनआई