बिश्व घटना

जोन्सन एन्ड जोन्सनविरुद्ध दुई अर्ब डलरको जरिवाना

जोन्सन एन्ड जोन्सनविरुद्ध दुई अर्ब डलरको जरिवाना


वासिङ्टन । संयुक्त राज्य अमेरिकाको एक अदालतले शरीरलाई घातक मानिएको टेलकम पाउडर बिक्री गरेको आरोपमा औषधि उत्पादक जोन्सन एन्ड जोन्सन कम्पनीविरुद्ध दुई अर्ब १० करोड डलर जरिवाना भुक्तानी गर्न आदेश दिएको छ । 
 
यद्यपि मिजौरी पुनरावेदन अदालतले जरिवानाको अंकलाई आधा घटाएर फैसला सुनाएको थियो । प्रारम्भिक मुद्दामा करिब ४ अर्ब ४० करोड जरिवाना मागदाबी गरिएको थियो । 
 
अदालतको आदेशमा जोन्सनले जानाजान क्यान्सर रोग लगाउन सक्ने तत्व अस्वेस्टोस मिश्रित टेलकम पाउडर उपभोक्तालाई बिक्री गरेको उल्लेख छ । 
 
अदालतको आदेशमा टेलकम पाउडरको प्रयोगबाट शरीरमा क्यान्सर लागेको भन्दै जोन्सनविरुद्ध मुद्दा दायर गरिएको प्रसंग राख्दै अदालतले आदेशमा मानिसको स्वास्थ्यसँग पैसा वा जरिवानालाई दाँज्न नसकिने जनाएको छ । 
 
सन् २०१९ मा पनि क्यालिफोर्नियाको अदालतले एक बालिकालाई जोन्सनको टेलकम पाउडरका कारण क्यान्सर भएको भन्दै दशौँ लाख अमेरिकी डलर जरिवाना तिराएको थियो । 
 
गत महिना जोन्सनले अमेरिका र क्यानडामा टाल्क मिश्रित बच्चाका लागि पाउडर उत्पादन नगरिने घोषणा गरेको थियो । तर, कम्पनीले विश्वका अरु देशमा भने यसको बिक्री यथावत राख्ने जनाएको छ । 
 
तर, जोन्सन एन्ड जोन्सनकी एक प्रवक्ताले मिजौरी अदालतको आदेशविरुद्ध मिजौरीको सर्वोच्च अदालतमा मुद्दा दायर गरिने बताएका छन् । एएफपी