काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को महामारीयता पछिल्लो २४ घन्टामा हालसम्मकै अत्यधिक कोरोना संक्रमित थपिएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार पछिल्लो २४ घन्टामा विश्वभर १ लाख ८३ हजार नयाँ संक्रमित थप भएका हुन् । जसमध्ये ६० प्रतिशत उत्तर र दक्षिण अमेरिकामा फेला परेका हुन् ।
पछिल्लो समय विश्वका धेरैजसो मुलुकले बिस्तारै लकडाउन खुकुलो पार्दै गइरहेको सन्दर्भमा डब्लुएचओले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । शुक्रबार १ लाख ५० हजार, शनिबार १ लाख ८० हजार संक्रमित थपिएका थिए ।
कोरोना भाइरसबाट सर्वाधिक संक्रमित मुलुकमा अमेरिका अग्र स्थानमा छ । यहाँ हालसम्म २३ लाख ५६ हजार ६५७ पुगेका छन् । जसमध्ये १ लाख २२ हजार २४७ जनाको ज्यान गइसकेको छ ।
यसैगरी, दोस्रो सबैभन्दा प्रभावित मुलुक ब्राजिलमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब १० लाख ८६ हजार ९९० पुगेको छ । ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजार ६५९ पुगेको छ ।
यस्तै, तेस्रोमा रसिया परेको छ । यहाँ ५ लाख ८४ हजार ६८० जना संक्रमित छन् । यस्तै, भारतमा ४ लाख २६ हजार ९१० जना संक्रमित भएका छन् भने बेलायतमा ३ लाख ४ हजार ३३१ जना संक्रमित भएका छन् ।
विभिन्न समाचार एजेन्सी तथा विश्व स्वासथ्य संगठनको तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख ५० हजार ६८६ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ लाख ७० हजार ७९२ पुगेको छ । एजेन्सीको सहयोगमा ।
प्रतिक्रिया