मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

उत्तर कोरियाद्वारा अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त

उत्तर कोरियाद्वारा अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त


सियोल । उत्तर कोरियाली दक्षिण कोरियासँगैको सीमाक्षेत्रमा रहेको आफ्नो अन्तर–कोरियाली सम्पर्क कार्यालयको भवन ध्वस्त पारेको छ । दुबै कोरियाबीच पछिल्लो समय बढ्दै गएको तनावकै बीच उत्तर कोरियाले यस्तो कदम चालेको अनुमान गरिएको छ । 
 
दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको सम्पर्क कार्यालय भवन अपराह्न २।४९ मिनेटमा ध्वस्त बनाइएको जनाएको छ । यस बारेमा मन्त्रालयले कुनै थप विवरण दिएको छैन । 
 
योनहाप न्यूज एजेन्सीले सम्प्रेषण गरेका तस्वीरहरुमा अन्तर–कोरियाली सम्पर्क कार्यालय रहेका स्थानहरुबाट धुँवाको मुस्लो उडेको देखिएको छ । एजेन्सीका अनुसार हाल बन्द रहेको औद्योगिक क्षेत्रमा अन्तर–कोरिया सम्पर्क कार्यालय रहेका थिए ।
 
उत्तर कोरियाले उक्त सम्पर्क कार्यालय भत्काउने यसअघि नै धम्की दिँदै आएको थियो । खासगरी सीमावर्ती क्षेत्रबाट दक्षिण कोरियाली अधिकारवादी समूह तथा व्यक्तिहरुले उत्तर कोरियाली नेताविरुद्ध पर्चाहरु बेलुनमार्फत उडाएको र त्यसलाई रोक्न दक्षिणले पर्याप्त काम नगरेको उत्तर कोरियाली आरोप लगाउँदै आएको थियो ।
 
केही विज्ञहरुले भने अमेरिकी अग्रसरतामा उत्तर कोरियाविरुद्ध लगाइएका प्रतिबन्धहरुका कारण संयुक्त आर्थिक परियोजनाहरु पुनः सुरु गराउन दक्षिण कोरिया असफल भएकाले त्यसैको रिस फेर्न संयुक्त कार्यालय ध्वस्त बनाइएको बताएका छन् । 
 
शनिबार राति उत्तर कोरियाली नेताकी बहिनी किम यो जोङले उपयोगिताविहीन अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त पारिदिने चेतावनी दिनु भएको थियो ।  
 
सन् २०१८ मा दुवै कोरियाबीच सहमतिका अनुसार काइसोङमा पहिलो सम्पर्क कार्यालय स्थापना गरिएको थियो । यस कार्यालयले दुबै मुलुकबीचको संचार सम्पर्कलाई सहज र सुदृढ बनाउने लक्ष्य राखिएको थियो । 
 
यो कार्यालय स्थापना हुँदाताका दुबै कोरियाबीचको सम्बन्ध निकै प्रगाढ भएको थियो । उत्तर कोरिया आणविक निःशस्त्रीकरण वार्तामा पनि बसेको थियो । अघिल्लो मङ्गलबार उत्तर कोरियाली सेनाले अन्तर–कोरियाली शान्ति सम्झौता बमोजिम तोकिएको असैनिक क्षेत्रमा पुनः प्रवेश गर्ने चेतावनी दिएको थियो । 
 
उत्तर कोरियाली नेता किम जङ अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ को सुरुमा भियतनाममा भएको दोस्रो द्विपक्षीय वार्ता विना निष्कर्ष समाप्त भएसँगै दुबै देशबीचको सम्बन्ध सोचेजति सकारात्मक हुन सकेको छैन । एपी