नयाँ दिल्ली । भारतमा एकैदिनमा ११ हजार ५०२ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपि शनिबारको तुलनामा भारतमा संक्रमितको संख्यामा केही कमी आएको पाइएको छ ।
शनिबार एकैदिन १२ हजार २३ जनामा कोरोनमा भाइरस संक्रमण देखिएको थियो भने आइतबार ११ हजार ५०० जनामा संक्रमण देखिएको बताइएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार सोमबार बिहानसम्ममा एकैदिनमा ११ हजार ५०२ जना संक्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोनाभाइरसका कारण भारतमा ३२५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ९ हजार ५२४ पुगेको छ ।
भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या हालसम्म ३ लाख ३३ हजार ४७५ पुगेको छ । कुल संक्रमितमध्ये १ लाख ५४ हजार १०६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने १ लाख ६९ हजार ९८७ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा प्रदेशअनुसार हेर्ने हो भने सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित रहेका छन् । त्यस प्रदेशमा १ लाख ७ हजार ९५८ जना संक्रमित भएका छन् ।
महाराष्ट्रमा ५३ हजार ३० जना संक्रमित अवस्थामा नै रहेका छन् भने ५० हजार ९७८ जना उपचारपछि घर फर्किएका छन् । महाराष्ट्र कोरोना भाइरसको संक्रमणको कारण ३ हजार ९५० जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणको कारण दोस्रो स्थानमा रहेको तमिलनाडु प्रदेशमा ४४ हजार ६६१ जना र तेस्रो धेरै संक्रमण रहेको दिल्ली प्रदेशमा ४१ हजार १८२ जना संक्रमित रहेका छन् । एएनआई
प्रतिक्रिया