अमेरिका । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले कोभिड–१९ का कारण सहयोग र उद्धारका लागि सबैभन्दा बढी अनुरोध विद्यार्थीसँग संबन्धित आउने गरेको सार्वजनिक गरेका छन् ।
आइतबार साँझ नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आयोजना गरेको छलफल कार्यक्रममा डा. कार्कीले विद्यार्थीका अभिभावकहरुले नेपालबाट फोन गरेर उद्धारका लागि बढीमात्रामा आग्रह गर्ने गरेको बताए । ‘धेरै अभिभावकहरुले फोन गरेर उद्धार गर्न अनुरोध गरेका छन् । मैले उहाँहरुका छोराछोरीहरुलाई संभव भएसम्म फोन गरेर अवस्था बुझ्ने गरेको छु’ कार्कीले भने ।
अमेरिकामा रहेका अन्य स्टाटसका भन्दा विद्यार्थीहरु बढीमात्रामा पीडित रहेको आपूmले पाएको पनि कार्कीले बताए । कोरोनाका कारण रोजगारी गुमेको, अपार्टमेन्टको भाडा तिर्न समस्या परेको पीडा विद्यार्थीहरुले दर्शाउने गरेका छन् ।
अमेरिकामा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु अध्ययनरत छन् । अमेरिकाका प्रायः सबै राज्यहरुमा नेपाली विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् ।
‘कलेजले विद्यार्थीहरुलाई फर्किएर जान भनेपनि अहिले त्यो संभव छैन’ कार्कीले भने । न्यूयोर्क राज्यका केही विश्वविद्यालय र कलेजहरुले इन्टरनेशनल स्टुडेन्टहरुलाई आफ्नो देश फर्किन भनिसकेका छन् ।
पछिल्लो समयमा कोरोनाका कारण १४ जना नेपालीले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएपनि कतिपयले सोही रोगका कारण निधन भएको भन्ने सार्वजनिक गर्न नचाहेको उनले जानकारी दिए । यो अवस्थामा नेपाल सरकारले मात्र नभएर संसारभरिका कुनै पनि देशले अमेरिकामा रहेका आफ्ना नागरिकका लागि खासै प्रभावकारी रुपमा केही गर्ने अवस्था नरहेको बरु स्थानीय रुपमा अमेरिकी सरकार र निकायले प्रदान गर्ने सेवा तर्फ सकृय हुन पनि कार्कीले आग्रह गरे ।
उनले अहिलेनै अमेरिकामा रहेका नेपालीहरुलाई उता लैजानका लागि कुनै पहल गर्न नसकिने समेत स्पष्ट पारे । ‘जहाजभित्र सोसल डिस्ट्यान्सका कुरा मेन्टेन हुन सक्दैन । अमेरिकाका धेरै ठाउँबाट नेपालीहरुलाई एकठाउँमा जम्मा गरेर लैजानु पनि जोखिमको विषय भएकोले त्यसतर्फ नेपाल सरकारले समेत सोच्न सकेको छैन’ उनले भने ।







प्रतिक्रिया