बिश्व घटना

भारतमा ४० हजार कोरोना संक्रमित, १३ सय २३ को मृत्यु

भारतमा ४० हजार कोरोना संक्रमित, १३ सय २३ को मृत्यु


नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा कोरोना भाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ७२३ जना संक्रमित भेटिएका छन् । 
 
भारतमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२३ जना पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ९८० जना पुगेको भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 
 
हाल भारतमा कोरोना संक्रमितमध्ये १० हजार ८१९ जना निको भएका छन् । कूल संक्रमितमध्ये २७ हजार ८३८ जना उपचारकै क्रममा रहेका छन् । भारतीय राज्य महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । प्राप्त विवरणअनुसार त्यहाँ संक्रमितको संख्या १२ हजार २९६ पुगेको छ भने ५२१ जनाको मृत्यु भएको छ । 
 
गुजरातमा ५ हजार ५४ जना संक्रमित भएका र २६२ जनाको मृत्यु भएको छ । राजधानी नयाँदिल्लीमा ४ हजार १२२ जना संक्रमित भएकामध्ये ६४ जनाको ज्यान गएको छ । एक हजार २५६ जनाको उपचार गरिएको छ । 
 
त्यसैगरी मध्यप्रदेशमा २ हजार ८४६ जनामा कोरोना पोजेटिभ देखिएकामा ६२४ जना ठीक भएका र १५१ जनाको ज्यान गएको छ । उत्तर प्रदेशमा ४३ जनाको मृत्यु भएको छ जहाँ २ हजार ४८७ जनामा कोरोना देखिएकामा ६८९ जना निको भएका छन् । 
 
भारतमा पहिलोपटक कोरोना देखिएको केरला राज्यमा ४९९ जनामा कोरोना संक्रमण देखिएको छ । 
 
भारतमा आगामी मे १७ तारिखसम्म लकडाउन घोषणा गरिएको छ । तर, कोरोना संक्रमणको आधारमा मुलुकलाई अति प्रभावित, सामान्य र कोरोना संक्रमण नदेखिएका क्षेत्रमा वर्गीकरण गरी लकडाउनलाई खुकुलो पारिने भारतीय गृह मन्त्रालयले जनाएको छ । एएनआई