मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पाकिस्तानका सभामुख र छोराछोरीलाई कोरोनाको सङ्क्रमण

पाकिस्तानका सभामुख र छोराछोरीलाई कोरोनाको सङ्क्रमण


इस्लामावाद । पाकिस्तानको राष्ट्रियसभाका सभामुख असद क्विसेर र उनका छोराछोरीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।   
 
देशभर १७ हजार ६११ जना सङ्क्रमित भइसकेको बेला सभामुख र उनका छोराछोरीलाई पनि सङ्क्रमण भएको पुष्टि गरिएको हो । 
 
आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि जानकारी दिएका छन् । उनले आफू सङ्क्रमित भएको पुष्टि भएकाले आफैँ क्वारेन्टाइनमा बसेको पनि बताएका छन् । 
 
उनले लेखेका छन्, “मलाई कोरोना भाइरसको परीक्षण गर्दा सङ्क्रमण भएको नतिजा देखिएको छ, त्यसैले म मेरै घरमा क्वारेन्टाइनमा बसेको छु ।”
 
पाकिस्तानमा शुक्रबारसम्म देशभर १२ हजार ८९० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । कुल सङ्क्रमितमध्ये चार हजार ३१५ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । 
 
अहिले सङ्क्रमण अवस्थामै रहेकामध्ये १११ जनाको अवस्था गम्भीर छ भने अहिलेसम्म कुल ४०६ जनाको मृत्यु भएको छ । यसअघि तीन दिन पहिलो सिन्ध प्रान्तका गभर्नर इमरान इस्माइललाई पनि कोरोना भाइरसको सङ्क्रमण भएको थियो । 
 
पाकिस्तानमा सबैभन्दा धेरै सङ्क्रमण पञ्जा प्रान्तमा देखिएको छ । पञ्जाबमा छ हजार २२० जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको अधिकारीहरुले जनाएका छन् । 
 
त्यसैगरी छ हजार ५३ जना सिन्ध प्रान्तमा, दुई हजार ३१३ जना खैबर पख्तुन्ख्वामा, ९७८ जना बालुचिस्तानमा, ३३९ जना गिल्गिट बाल्टीस्थानमा, ३१३ जना इस्लामावाद प्रदेशमा र ६६ जना पाकिस्तान नियन्त्रित जम्मु कास्मिर प्रदेशमा सङ्क्रमितहरु रहेको जनाइएको छ । 
 
सरकारी तथ्यांकअनुसार देशभर १५० भन्दा बढी स्वास्थ्यकर्मीहरुलाई पनि कोरोना भाइरसको सङ्क्रमण भएको छ । तीमध्ये केही चिकित्सक पनि रहेका छन् । 
 
कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएका मध्ये पाँच जना स्वास्थ्यकर्मीहरु पनि परेको जनाइएको छ । 
 
स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक मानिएको व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) पर्याप्तरुपमा उपलब्ध नभएकाले उनीहरुमा सङ्क्रमण फैलिएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । एएनआई