काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या शुक्रबार बेलुकीसम्म ३३ लाख २१ हजार ६६१ पुगेको छ । जसमध्ये १० लाख ५० हजार निको भएका छन् ।
जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका १० लाख ४९ हजार ७६१ संक्रमित निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा परेको संयुक्त राज्य अमेरिकामा १० लाख ९५ हजार ३०४ कुल संक्रमितमध्ये एक लाख ५५ हजार ७३७ जना निको भइसकेका छन् । अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुने मुलकमा स्पेन रहेको छ । यहाँ २ लाख ३९ हजार ६३९ मानिस संक्रमित रहेकोमा १ लाख ३७ हजार ९८४ मानिस निको भएका छन् ।
यसैगरी, इटालीमा २ लाख ५ हजार ४६३ संक्रमित रहेकोमा ७५ हजार ९४५ जना निको भएका छन् ।
सबैभन्दा बढी निको हुने देशमा जर्मनी परेको छ । यहाँ १ लाख ६३ हजार संक्रमित भएकोमा निको हुनेको संख्या १ लाख २३ हजार ५०० पुगेको छ । ३२ हजार ८८६ जनाले उपचार गराइरहेका छन् ।
चीनमा कुल ८२ हजार ८७४ संक्रमितमध्ये ७७ हजार ६४२ जना निको भई फर्किएका छन् । चीनमा हाल उपचारत मानिसको संख्या ५९९ मात्र बाँकी छ । जसमा ३८ जनाको अवस्था जटिल रहेको बताइएको छ ।
विश्वभर कोरोना भाइरसका कुल संक्रमितको संख्या ३३ लाख २१ हजार ७६७ रहेकोमा दुई लाख ३४ हजार ४०४ जनाको मृत्यु भइसकेको छ ।
चीनको वुहान सहरबाट उत्पत्ति भई संसारभरमा जनतालाई भयत्रास, शोक र सन्नाटा सिर्जना गरेका कोरोना भाइरसका कारण अमेरिकामा ६३ हजार ८७१ जनाको मृत्यु भएको छ ।
यस्तै, इटालीमा २७ हजार ९६७, बेलायतमा २६ हजार ७७१, स्पेनमा २४ हजार ५४३, फ्रान्समा २४ हजार ३७६, बेल्जियममा ७ हजार ५९४, जर्मनीमा ६ हजार ६२३, इरानमा ६ हजार २८, ब्राजिलमा ६ हजार ६, नेदरल्याण्ड्समा ४ हजार ७९५ र चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ । एजेन्सी
प्रतिक्रिया