रोम । इटलीमा कोरोना भाइरसको सङ्क्रमण दर बिस्तारै कम हुँदै गएको संकेत गर्दै प्रधानमन्त्री जिसेपे कोन्टीले आगामी मे ४ देखि उत्पादन, निर्माण र थोक बिक्रेताहरूलाई काममा फर्किन सक्ने बताएका छन् ।
राष्ट्रिय टेलिभिजन च्यानलमार्फत् प्रशारण गरिएको भिडियोमा उनले भने, “सुरूमा अर्थात् मे ४ देखि उत्पादन, निर्माण र थोक विक्रेताहरू काममा फर्किन सरकारले अनुमति दिने तयारी गरिरहेको छ । अहिलेकै अवस्था रहेमा त्यसपछि खुद्रा व्यापारी, रङ्गशाला, प्रदर्शन भवनहरू र लाइब्रेरीलाई मे १८ पछि खुला गरिनेछ भने बार, रेष्टुरेन्ट, सैलुन र श्रृंगार पसलहरूलाई जुन १ देखि खुला गरिनेछ ।”
प्रधानमन्त्रीले मे ४ पछि स्थानीय नागरिकलाई मास्कको प्रयोग गरेर आफ्ना आफन्त भेट्न पार्क तथा सार्वजनिक बगैँचाहरू खुल्ने बताएका छन् । घरबाट करिब २०० मिटरन्दा टाढा जान मोटरसाइकलको प्रयोग गर्न र शारिरीक अभ्यासका लागि हिड्न खुला गरिने प्रधानमन्त्री कोन्टीले बताए ।
राष्ट्रिय बन्दाबन्दी (लकडाउन)को घोषणालाई आगामी मे ३ पछि खुला गर्ने तर दोस्रो चरणका लागि फरक किसिमको नीति अवलम्बन गरिने उनले बताए । उनले सङ्क्रमण बढी रहेको क्षेत्रमा आगामी केही समय नागरिकले कठिनाइँ परे पनि सहेर सरकारलाई सघाउन र आफ्नो व्यक्तिगत स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गरेका छन् ।
मृतकका आफन्तले कम्तीमा १५ जनाको सहभागितामा अन्त्येष्टिमा सहभागिता जनाउन पाउने र सबै व्यक्ति, उद्योग तथा व्यावसायिक फर्महरूले कोरोना भाइरसबाट बच्न सुरक्षा अनुशासनलाई पालना गर्नुपर्ने र त्यसो नगरेको पाइएमा आवश्यक कानुनी कारबाही हुने पनि प्रधानमन्त्रीले बताएका छन् ।
अझै पनि कोभिड–१९ सङ्क्रमणको सुरक्षा खतरा व्याप्त रहेको छ त्यसैले सामाजिक दूरी कायम गर्ने, मास्क तथा पञ्जाहरूको प्रयोग गर्ने र अनावश्यक भीडभाडमा नजाने गर्नेजस्ता उपाय अवलम्बन गर्दै कोभिड–१९ विरूद्धको लडाइँमा सम्पूर्ण नागरिकको सहयोग अझै पनि केही समयका लागि सरकार तथा स्वास्थ्यकर्मीको अनुरोधलाई मानी सहकार्य गर्न उनले आग्रह गरेका छन् ।
इटालीमा विगत २४ घन्टामा २६० जनाको मृत्यु भएको छ भने यो मार्चपछिको सबैभन्दा निम्न सङ्ख्या भएको यहाँको नागरिक सुरक्षा विभागले आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
इटालीमा सोमबारसम्ममा २६ हजार ६४४ जनाको कोभिड–१९ को सङ्क्रमणका कारण भएको छ भने एक लाख ९७ हजार ६७५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
इटालीमा पछिल्ला केही सातायता निको भएर घर फर्किनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । आइतबारसम्म इटालीमा ६४ हजार ९२८ जना निको भई घर फर्किएका छन् । सिन्ह्वा
प्रतिक्रिया