लण्डन । कोरोना भाइरसबाट सङ्क्रमित भई उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काम सुरु गर्ने भएका छन् ।
लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएकाले उनले काम सुरु गर्न तयार भएको अधिकारीहरुले जनाएका छन् ।
उनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरुलाई सोमबारदेखि सामान्य अवस्थामा झैंँकाम गर्न थाल्ने बताएका हुन् ।
प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुको सल्लाहअनुसार नै आफूले नियमित काम गर्न तयारी गरेको पनि जानकारी दिए ।
प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा तीन रात बिताएका थिए । त्यसपछि एक हप्ता सामान्य शैयामा बसेका थिए ।
सघन कक्षबाट बाहिरिएपछि उनले विभिन्न माध्यमबाट अति आवश्यक पर्ने व्यक्तिहरुलाई भेट्ने, कुराकानी गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप गर्दै आएका थिए ।
प्रधानमन्त्री अस्वस्थ भएर अस्पतालमा रहेका बेला उनको अनुपस्थितिमा अधिकांश काम विदेशमन्त्री डोमिनिक राबले गर्दै आएका थिए ।
कोरोना भाइरसको सङ्क्रमणबाट अति प्रभावित मुलुकमा पर्ने बेलायतमा कोरोना भाइरसका कारण हालसम्म २० हजार ७३२ जनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेहरुको संख्या २० हजारभन्दा बढी हुने देशहरुमध्ये बेलायत पाँचौं देश भएको छ । बेलायतभन्दा अगाडि अमेरिकामा ५४ हजार ७७६, इटालीमा २६ हजार ६४४, स्पेनमा २३ हजार १९० र फ्रान्समा २२ हजार ६१४ भन्दा बढीको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।
पछिल्लो दुई हप्तामा बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ । शनिबार एकै दिन ८१३ जनाको मृत्यु भएको थियो भने आइतबार राति १० बजेसम्म ४१३ जनाको मृत्यु भएको छ । एएनआई
प्रतिक्रिया