अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले कोरोना भाइरसका कारण सृजित असमान्य परिस्थितिका कारण अमेरिकी अध्यागमनका गतिविधिहरु अस्थायी रुपमा निलम्बन गर्ने घोषणा गरेका छन् ।
अमेरिकी जनताको रोजगारी सुरक्षित गर्ने उद्देश्यले उनले यो महत्त्वपूर्ण घोषणासम्बन्धी कार्यकारी आदेशमा सही गर्न लागेको भर्खरै एक ट्वीट सन्देशमार्फत जानकारी गराएका हुन् ।
यस्तो निलम्बन कति समयसम्म जारी रहने हो भन्ने उनको ट्वीटमा केही उल्लेख गरिएको छैन ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेशमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने भएका हुन् । सुरुवातदेखि नै आप्रवासीप्रति कडारुपमा प्रस्तुत हुँदै आएका उनले हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण यस्तो कठोर निर्णय गर्न लागेका हुन् ।
उनले अमेरिकामा प्रवेश रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणासमेत गरेका छन्।
स्मरण रहोस्, यसअघि पनि ट्रम्प आप्रवासीप्रति आक्रामक बन्दै आएका थिए । उनले अमेरिकाले डिपोर्ट गर्न चाहेका विदेशी नागरिकलाई आफ्नो देश फर्काउन नचाहने देशलाई भविष्यमा भिसामा प्रतिबन्ध लगाउन सक्ने चेतावनीसमेत दिएका थिए ।
हाल कोरोना भाइरसको संक्रमण महामारीले अमेरिकी सहरहरुमा संकटको स्थिति आउँदै गर्दा बेरोजगारी बढेपछि ट्रम्पले संयुक्त राज्य अमेरिकाका नागरिकको रोजगार बचाउन अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउन लागेका हुन्।
अमेरिकामा लकडाउन अन्त्य गर्न प्रदर्शन भइरहेका छन् । अमेरिकामा दुई करोड २० लाख मानिस रोजगारविहीन भएको एएफपीले उल्लेख गरेको छ ।
अमेरिकामा हालसम्म ७ लाख ९२ हजार ९१३ जना कोरोना संक्रमित भएका छन् भने ४२ हजार ५१७ जनाको ज्यान गएको छ । गत चौबिसघन्टामा १९४२ जनाको मृत्यु भएको छ ।
जसमा सबैभन्दा प्रभावित न्यूयोर्कमा हालसम्म २ लाख ५२ हजार ९४ जना संक्रमित भएका छन् भने १८ हजार ९२९ जनाले ज्यान गुमाएका छन् । गत चौबिसघन्टाभित्र न्यूयोर्कमा ज्यान गुमाउनेको संख्या ६३१ पुगेको समाचार एजेन्सीहरुले जनाएका छन् ।







प्रतिक्रिया