जेनेभा । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट संयुक्तराज्य अमेरिकामा मात्र मृत्यु हुने व्यक्तिको संख्या ४० हजार १०९ नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विवरणअनुसार अमेरिकामा ४० हजार १०९ जनाको मृत्यु भएको छ भने ७ लाख ५५ हजार १६२ व्यक्ति संक्रमित भएका छन् । यस्तै, ६८ हजार ८२२ जना निको भएर फर्किएका छन् ।
अमेरिकाका सबैजसो राज्यमा लकडाउन र सामाजिक दूरीका कडा नियमहरु लागू गरिए पनि संक्रमितको संख्यामा अझै कमी आएको छैन । देशका कतिपय राज्य र सहरमा मानिसहरु लकडाउन हटाउन माग गर्दै प्रदर्शनमा समेत उत्रिएका छन् ।
मानिसहरु सडकमा उत्रिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पुनः खुला गर्न विभिन्न निर्देशिकाहरु राज्यका गभर्नरलाई सुझाए पनि लकडाउन खोल्ने बारेमा स्पष्ट भइसकेको छैन ।
अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्क सहरमा नर्सिङ होममा आश्रित ज्येष्ठ नागरिकको ठूलो संख्यामा मृत्यु भएको छ ।
क्लालिफोर्निया सहरमा राज्य सरकारले कोरोना संक्रमित तर हाल घरबारविहीन व्यक्तिका लागि १५ हजार होटल कक्षहरुको व्यवस्था गरिएको गभर्नर ग्याभिव न्यूसमले बताएका छन् ।
इन्डियानापोलिसमा गभर्नर एरिक होल्कोम्बको सरकारी आवास बाहिर २०० भन्दा बढी व्यक्ति भेला भएर लकडाउन खोल्न माग गर्दै प्रदर्शन गरेका छन् ।
यस्तै, टेक्सास राज्यको अस्टिनमा पनि घरभित्र बस्न दिइएको आदेशको विरोधमा प्रदर्शनहरु भएका छन् ।
अमेरिकामा लकडाउन अन्त्य गर्न प्रदर्शन भइरहे पनि कोरोनासँग संघर्षरत युरोपेली मुलुकहरुमा कतै लकडाउन र आपतकालको अवधि बढाइएको छ भने डेनमार्क, स्वीडेनजस्ता केही मुलुकले प्राथमिक विद्यालयहरु खोलेका छन् ।
कोरोनाभाइरसका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटलीमा रहेको छ । पछिल्लो विवरणअनुसार इटलीमा २३ हजार ६६० जनाको मृत्यु भएको छ भने तेस्रो स्थानमा रहेको स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ४५३ जना रहेको छ ।
यस्तै, चौंथो स्थानमा फ्रान्स रहेको छ । यहाँ १९ हजार ७१८ जनाको मृत्यु भएको छ । एपी / एएनआई







प्रतिक्रिया