मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जापानमा कोरोनाभाइरस संक्रमितको संख्या १० हजार नाघ्यो

जापानमा कोरोनाभाइरस संक्रमितको संख्या १० हजार नाघ्यो


टोकियो । जापानको स्वास्थ्य मन्त्रालयले २४ घन्टाको अवधिमा जापानमा कोरोनाभाइरस संक्रमणका ५६८ वटा नयाँ घटना देखिएको आइतबार जनाएको छ । योसहित जापानमा कुल संक्रमितको संख्या १० हजार ३६१ पुगेको छ । 
 
यस वर्षको सुरुमा टोकियोको नजिक क्वारेन्टाइनमा राखिएको यात्रुबाहक पानीजहाजका ७१२ जना समेत जापानमा ११ हजार ७३ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण जापानमा हालसम्म २२२ जनाको मृत्यु भएको छ । 
 
अमेरिका र युरोपको तुलनामा जापानमा कोरोना संक्रमणको संख्या अझै पनि तुलनात्मक रूपमा सानो छ, तर स्वास्थ्य परीक्षणको संख्या नै कम भएकाले पनि वास्तविक विवरण ठम्याउन कठिन भएको बताइन्छ । विज्ञहरुले जापानमा कोरोना संक्रमितको संख्या अझ ठूलो हुन सक्ने दाबी गरेका छन् । 
 
जापानले अन्ततः टोकियो र अन्य ठाउँमा अतिरिक्त परीक्षण केन्द्रहरू स्थापना गर्न सुरु गरेको छ । पछिल्ला दिनहरुमा उपचारमा प्रभावकारिता ल्याउन प्राथमिक उपचार चिकित्सकहरूलाई संदिग्ध बिरामीहरूलाई सिधै परीक्षण केन्द्रहरुमा पठाउन अनुमति दिइएको छ । 
 
विज्ञहरूले संक्रमित व्यक्तिहरु पत्ता लगाउन विगतमा अपनाइएको रणनीति सफल नभएकाले परीक्षणलाई व्यापक बनाउन सुझाव दिएका छन् । 
 
प्रधानमन्त्री शिन्जो आबेले बिहीबार टोकियो र छ वटा शहरी क्षेत्रहरूमा मात्र सीमित राखिएको आपतकालको अवस्था देशव्यापी बनाइएको घोषणा गरेका थिए । जापानका अस्पतालहरुमा संक्रमित व्यक्तिको संख्या दिनहुँ बढ्न थालेपछि प्रधानमन्त्री आबेले आपतकाल घोषणा गरेका हुन् । 
 
जनवरीको मध्यमा पहिलो घटना पत्ता लागेदेखि यता संक्रमित व्यक्तिको संख्या एक हजार पुग्न दुई महिना लागेको छ । तर संक्रमणको प्रसार पछिल्ला हप्ताहरूमा तिब्र रुपमा बढेको छ र १० दिनभित्रै यो संख्या ५ हजारबाट दोब्बर भएको छ ।
 
सियोलः दक्षिण कोरियामा विगत २४ घण्टामा ८ जना नयाँ संक्रमणका घटना भेटिएका छन् । दक्षिण कोरियाली संक्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार आइतबारम्ममा देशभर १० हजार ६६१ जना संक्रमित भएका र २३४ जनाको मृत्यु भएको छ । 
 
केन्द्रले कोरोनाभाइरस संक्रमितमध्ये ८ हजार ४२ जना निको भएको जनाएको छ । अरु १२ हजार २४३ जनामा कोरोना संक्रमण भए नभएको बारे परीक्षण भइरहेको छ । 
 
दक्षिण कोरियाली अधिकारीहरुले कोरोनाभाइरस संक्रमितको संख्यामा कमी आएसँगै सामाजिक दूरीको नियममा सहजीकरण गरिएका कारण “भित्रभित्रै” कोरोना भाइरस फैलन सक्ने भन्दै चेतावनी दिएका छन् ।  
 
रियो दे जेनेरोः ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले घोषणा गरेको राष्ट्रव्यापी लकडाउनको अवज्ञा गर्दै ब्राजिलका विभिन्न शहरमा सयौं व्यक्तिले विरोध प्रदर्शन गरेका छन् ।
 
ट्रक, कार र मोटरसाइकलमा आएका प्रदर्शनकारीले रियो दे जेनेरो, साओ पाउलो र राजधानी ब्रासिलिया समेतका शहरका सडकमा लकडाउनको विरोधमा हर्न बजाएर विरोध गरेका थिए । उनीहरुले हप्तौंसम्म अधिकांश पेशा व्यवसाय बन्द गर्न आदेश जारी गर्ने गभर्नरहरुलाई राजीनामा दिन माग गरेका छन् । ब्रासिलियामा राष्ट्रपति बोल्सोनारोले अर्थतन्त्र पुनः खुला गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 
म्याड्रिडः कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेनी सरकारले कोरोनाभाइरस प्रसार रोक्न थप दुई साता आपतकाल कायम राखिने बताएका छन् । तर, उनले बालबालिकाका लागि परिस्थितिमा सहजीकरण गर्न लागिएको बताए । 
 
स्पेनमा मध्य मार्चदेखि युरोपमै सबैभन्दा कठोर लकडाउन कायम छ । लकडाउनका कारण आर्थिक गतिविधि शून्यप्रायः अवस्थामा छ । स्थानीय सरकार, अभिभावक र कतिपय शिक्षा क्षेत्रका विज्ञहरुले बालबालिकालाई लकडाउन खुकुलो बनाउन आग्रह गरेपछि सरकारले आगामी ९ दिनभित्रै नयाँ नियम सार्वजनिक गर्न लागेको जनाएको छ । स्पेनमा जारी आपतकालको घोषणालाई संसदले अनुमोदन गर्नु पर्नेछ । 
 
पेरिसः फ्रान्सको राष्ट्रिय स्वास्थ्य सेवा विभागले अस्पतालको सघन उपचार कक्षमा रहेका कोरोना संक्रमित बिरामीको संख्यामा कमी आएको जनाएको छ । विगत तीन दिनदेखि भाइरसका कारण अस्पतालमा भर्ना हुनेको संख्यामा पनि कमी आएको विभागको भनाइ छ ।
 
फ्रान्समा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १९ हजार नाघिसकेको छ । अध्ययन अनुसार मृत्यु भएकामध्ये एक तिहाइभन्दा बढी नर्सिङ होममा रहेका ज्येष्ठ नागरिक रहेका छन् । एपी