वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानका लागि राहत प्याकेजको घोषणा गरेका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण मर्कामा परेका किसानहरुलाई सहयोग पुर्याउने उद्देश्यले उनले राहतको घोषणा गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले १९ अर्ब अमेरिकी डलर बराबरको राहत शुक्रबार घोषणा गरेको समाचारमा जनाइएको छ ।
कुल १९ अर्ब अमेरिकी डलरमध्ये १६ अर्ब अहिले नै किसानहरुलाई वितरण गरिने र बाँकी तीन अर्ब खाद्यान्न वितरणका लागि बचत गरिने उनले बताए ।
‘आज मैले यो घोषणा गर्न चाहन्छु कि, हाम्रो कृषि विभागले १९ अर्ब अमेरिकी डलर बराबरको राहत कार्यक्रम लागू गर्नेछ’, ट्रम्पले भने ।
उनले राहतबाट किसानहरुलाई संकटबाट मुक्त हुन सानो भए पनि सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
शुक्रबार ह्वाईट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले किसानहरुलाई सीधै राहत दिने र खाद्य पदार्थ सञ्चय गर्नका लागि राहत दिने व्यवस्था गर्न लागिएको जानकारी दिए ।
उनले कोरोना भाइरसको संक्रमणका कारण प्रभावित ८ करोड अमेरिकीहरुले राहत रकम पाएको पनि बताएका छन् ।
अमेरिकामा शनिबार बिहानसम्म कुल ७ लाख १० हजार २७२ जना सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ३७ हजार १७५ पुगेको छ ।
अमेरिकामा हाल ६ लाख ९ हजार ५८७ जनाको उपचार जारी रहेकोमा १३ हजार ५०९ को अवस्था चिन्ताजनक छ ।
अमेरिकामा ६३ हजार ५१० जना उपचारपश्चात् निको भई फर्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एएनआई
प्रतिक्रिया