बिश्व घटना

न्युयोर्कमा विद्यालय बन्द मे १५ सम्म लम्ब्याइने

न्युयोर्कमा विद्यालय बन्द मे १५ सम्म लम्ब्याइने


न्युयोर्क । अमेरिकाको न्युयोर्क राज्यका गभर्नरले यहाँका अत्यावश्यक बाहेकका व्यवसाय, प्रतिष्ठानहरु र विद्यालयहरु मे १५ सम्म नखुल्ने बताएका छन् ।
 
यी क्षेत्रहरु अहिले पनि बन्द रहेका र आगामी मे १५ सम्म नै नखुल्ने जानकारी गभर्नर एन्ड्रयु कुओमोले जानकारी दिएका हुन् । 
 
उनले संयुक्त राज्य अमेरिकाले कोविड १९ को संक्रमणलाई रोक्ने प्रयासस्वरुप यो निर्णय गरिएको जानकारी दिएको समाचारमा जनाइएको छ ।
 
कुओमोले उनको नियमित पत्रकार सम्मेलनका क्रममा सो जानकारी दिएका थिए । साथै, उनले न्युयोर्क वरिपरिका राज्यहरुसँग पनि आवश्यक परामर्श गरेर यो निर्णय लिइएको जानकारी गराए । 
 
उनले पछिल्ला केही दिनहरुमा यस राज्यमा कोविड १९ का कारणले भर्ना हुन आउने तथा आइसियुमा राख्नुपर्ने अवस्थाका बिरामीहरुको संख्या घट्दो मात्रामा रहेको जानकारी पनि दिए । 
 
तर, पनि अहिले नै उद्योग कारखाना तथा सबै बजार खुल्न मिल्ने अवस्था भने नरहेकोले सतर्कता अपनाउन पनि न्युयोर्कका गभर्नरले सबैसँग अपिल गरेका छन् । 
 
उनले आगामी केही हप्तामा अवस्था नियन्त्रणमा आउने भन्दै छिमेकी राज्यहरुसँगको परामर्शबाट बजार तथा विद्यालय खोल्नेसम्बन्धी निर्णय जतिसक्दो चाँडै गर्ने पनि बताएका छन् । 
 
अमेरिकामा कोरोना भाइरस (कोविड–१९) बाट मृत्यु हुनेको संख्या ३५ हजार ६७८ रहेको अवस्थामा गभर्नरको यो भनाइ आएको हो ।
 
अमेरिकाबाट प्राप्त पछिल्लो समाचारमा अनुसार यहाँ संक्रमितको संख्या पनि विश्वको अरु देशका तुलनामा सबैभन्दा बढी रहेको छ ।  
 
अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३५ हजार ६७८ जना पुगेको छ ।
 
नेपाली समयानुसार शुक्रबार रातिसम्म अमेरिकामा यो भाइरसबाट संक्रमित हुनेहरुको संख्या पनि ६ लाख ८६ हजार नाघेको छ ।
 
कोरोना भाइरसबाट शुक्रबार अपरान्हसम्म संक्रमित हुने ६ लाख ७६ हजार ६७६ पुगेको सो युनिभर्सिटीको तथ्यांकमा उल्लेख गरिएको छ । सिन्हवा