मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सन् २०२२ सम्म सामाजिक दुरी कायम गर्नुपर्ने अनुसन्धानकर्ताहरुको निष्कर्ष

सन् २०२२ सम्म सामाजिक दुरी कायम गर्नुपर्ने अनुसन्धानकर्ताहरुको निष्कर्ष


वासिङ्टन । कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नुपर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ । 
 
अमेरिकाको क्याम्ब्रिजमा रहेको हावर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा कम्तीमा पनि २०२२ सम्म रहिरहने देखाएको हो । 
 
विश्वविद्यालयका स्टेफन किसलरले नेतृत्व गरेको टोलीले कोरोना भाइरसको चरित्र, सर्ने प्रवृत्ति, क्षमतालगायतलाई आधार मानेर यो निष्कर्ष निकालेको जनाएको छ ।
 
विश्वभर सबैजसो देशमा पुगिसकेको कोरोना भाइरसलाई विश्वभरिबाटै निर्मुल पार्नु ठूलो चुनौतीपूर्ण कार्य भएको र अहिलेको चरणमा नियन्त्रण जस्तो देखिए पनि अर्को चरणमा पुनः फैलिनसक्ने पनि उनीहरुले अनुमान गरेका छन् ।      
 
अनुसन्धानकर्ताहरुले कोरोना भाइरसविरुद्धको कुनै खोप नआएमा वा यसलाई नियन्त्रण गर्ने कुनै उपाय सृजना नभएसम्म सामाजिक दुरी कायम गर्नै पर्नेमा जोड दिएका छन् ।
 
सामाजिक दुरी कायम गर्नु वा उच्च निगरानीमा रहेर उपचार गराउनु नै यसबाट बच्ने मुख्य उपाय हो, अनुसन्धानकर्ताहरुले अध्ययन प्रतिवेदनमा लेखेका छन् ।  
 
उनीहरुले उच्च सतर्कतासहितको उपचार सेवालाई सबै देशले थप विस्तार गर्नुपर्नेमा पनि जोड दिएका छन् । अध्ययनकर्ताहरुले सन् २०२४ सम्ममा मात्र कोरोना भाइरसविरुद्ध सजिलै लड्न सक्नेगरी व्यवस्थापन हुने अनुमान पनि गरेका छन् । 
 
विश्व स्वास्थ्य संगठनले पनि औषधि वा खोप तयार नहुँदासम्म यो रोगको जोखिम रहिरहने जनाएको छ । संगठनले विश्वभर दर्जनौ वैज्ञानिकहरुले खोप तयार पार्न परीक्षण र प्रयासहरु जारी राखेको पनि जनाएका छन् ।
 
कोरोना भाइरसका कारण बुधबारसम्म संसारभर २० लाख २८ हजार १०७ जना संक्रमित भएका छन् भने एक लाख २९ हजार १८७ जनाको मृत्यु भएको छ । 
 
यसको संक्रमण अहिलेसम्म २१० देशमा फैलिएको छ । मृत्यु हुने र संक्रमित हुनेहरु सवैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा छ लाख १६ हजार ४५८ जना बिरामी हुँदा २६ हजार २१३ जनाको मृत्यु भएको छ । एएनआई