मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा ‘लकडाउन’ वैशाख २१ गतेसम्म लम्बियो

भारतमा ‘लकडाउन’ वैशाख २१ गतेसम्म लम्बियो


नयाँ दिल्ली । भारत सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्नका लागि हाल जारी रहेको बन्दाबन्दी (लकडाउन)लाई आगामी मे महिनाको ३ तारिख अर्थात् वैशाख २१ गतेसम्म लम्ब्याएको घोषणा गरेको छ । 
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि आज मंगलबार समाप्त हुँदैछ । 
 
प्रधानमन्त्री मोदीले मङ्गलबार टेलिभिजनबाट सम्बोधन गर्दै भने, “लकडाउनको अबको अवस्थामा अनुगमन कार्यलाई झनै कडा पारिनेछ । आगामी अप्रिल २० तारिखसम्म देशका विभिन्न राज्य तथा जिल्लामा लकडाउन के कसरी कार्यान्वयन भएको छ भन्ने बारेमा विशेष अनुगमन गरिनेछ ।”
 
यदि राज्य तथा जिल्लाहरुमा लकडाउन राम्रोसँग कार्यान्वयन भएको देखिएमा ती क्षेत्रमा अप्रिल २० पछि अत्यावश्यक सेवा र वस्तुका लागि केही खुकुलो गरिने उनले बताए । 
 
प्रधानमन्त्री मोदीले गत शनिबार भारतका विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कल गरेर अहिलेको लकडाउनको अवस्थालाई के गर्ने भन्ने विषयमा परामर्श गरेका थिए । 
 
सबैको सुझावलाई ध्यानमा राखेर नै मे ३ सम्म लकडाउन कायम गरिएको मङ्गलबारको सम्बोधनमा उनको भनाइ थियो । यो सबै नागरिकको जीवनको सुरक्षाका लागि गरिएकोले सबैलाई यस अवधिमा घरभित्रै बस्न र बाहिर ननिस्किन पनि उनले आग्रह गरे ।
 
सरकारले जारी राखेको यही लकडाउनकै कारण भारतमा अहिलेसम्म कोरोनाबाट हुने क्षतिलाई कम गर्न सकिएको उनले बताए । 
 
सो सम्बोधनका क्रममा उनले भने, ‘हामीलाई थाहा छ कि तपाईंहरुलाई अप्ठ्यारो परेको छ, कसैलाई खाने त कसैलाई आउजाउ गर्न पनि समस्या छ । तर, पनि तपाईंहरु सबै देशवासीले यस्तो अप्ठेरो अवस्थामा पनि अनुशासितरुपमा सरकारको आदेश मान्नुभएको छ र एकजना सिपाहीले जस्तो गरी कर्तव्यको पालना गर्नुभएको छ ।’
 
भारतमा हालसम्म कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या १० हजारभन्दा बढी पुगेको छ । मङ्गलबारको समाचारअनुसार यहाँ कोरोना भाइरसबाट ३५८ जनाको ज्यान गइसकेको छ । एएनआई

शेयर गर्नुहोस:

0
Shares