काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नामको प्राणघातक भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा एकै दिन २०३५ मानिसको ज्यान गएको छ ।
पछिल्लो २४ घन्टामा विश्वभर ७ हजार ६१ जनाले ज्यान गुमाउँदा अमेरिकामा २ हजार ४९ जनाले ज्यान गुमाएका छन् । चौबिस घन्टामा विश्वभर मृत्यु हुनेको कुल संख्याको यो २९ प्रतिशतभन्दा बढी हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार यो तथ्यांक कोरोना भाइरसबाट मृत्यु हुनेमध्ये एकै देशमा २४ घन्टाभित्र ज्यान गुमाएको पहिलो हो । यद्यपि, अमेरिकमा गत शुक्रबारदेखि नै मृत्यु हुनेको संख्या बढ्दो छ । गत शुक्रबार १३२१, शनिबार १३३१, आइतबार ११६५, सोमबार १२७० जनाले ज्यान गुमाएकोमा मंगलबारदेखि एकैदिन १९ बढीले ज्यान गुमाउँदै आएका छन् । मंगलबार १९७०, बुधबार १९४०, बिहीबार १९०० र शुक्रबार सर्वाधिक २०३५ जनाले ज्यान गुमाएका छन् ।
न्यूयोर्कमा मात्र १ लाख ७२ हजार ३५८ संक्रमित भएकोमा ७८४४ ले ज्यान गुमाएका छन् । न्यूयोर्कमा सोमबार ५९९, मंगलबार ७३१, बुधबार ७७९, बिहीबार ७९९ र शुक्रबार ७७७ जनाको मृत्यु भएको छ ।
यस्तै, फ्रान्समा गत चौबिसघन्टामा ९८७, स्पेनमा ६३४, इटालीमा ५७० जनाको ज्यान गएको छ । बेलायतमा २४ घन्टाको अवधिमा ९८०, बेल्जियममा ४९६ र जर्मनीमा १२९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घन्टामा मात्रै कोरोना भाइरसका ९४ हजार ६२५ संक्रमित थपिएका छन् । जसमा अधिक संख्या अमेरिकाकै रहेको छ । अमेरिकामा शुक्रबारमात्रै ३३ हजार ७५२ कोरोनाका नयाँ संक्रमितको पहिचान भएको छ ।
विश्वभर ४९ हजार ८३१ कोरोना संक्रमितको अवस्था गम्भीर हुँदा अमेरिकामा मात्रै यो संख्या १० हजार ९१७ रहेको छ ।
यस्तै, विश्वभर १२ लाख २१ हजार ९९५ को उपचार जारी रहँदा अमेरिकामा ४ लाख ५७ हजार १०२ को विभिन्न राज्यमा उपचार भइरहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
विश्वभर कोरोना भाइरसका संक्रमित १७ लाख ७४१ पुगेको छ भने १ लाख २ हजार ७७४ को ज्यान गइसकेको छ । हालसम्म ३ लाख ७६ हजार ५७२ जना निको भई फर्किएका छन् । एजेन्सीहरुको सहयोगमा ।







प्रतिक्रिया