ब्रसेल्स । यूरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलले शुक्रबार इयू नेताहरूलाई फोन गरी अप्रिल २३ भिडियो सम्मेलनमा सहभागिताका लागि आग्रह गरेका छन् ।
कोरोनाभाइरसबाट थला परेको अर्थतन्त्रलाई माथि उकास्न चाल्नुपर्ने कदमबारे छलफल गर्ने तयारीसाथ नेताहरूलाई सम्मेलनमा सहभागिताका लागि आग्रह गरेका हुन् ।
“अबको समय कोरोना भाइरसको महामारीले ग्रस्त बनाएको अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने बिषयमा छलफल गर्ने समय हो,” ईयूका अर्थमन्त्रीहरूद्वारा यूरोपेली संघमा आवद्ध समूह राष्ट्रका लागि आपतकालीन राहतका लागि पाँच खर्ब ५० अर्ब अमेरिकी डलर जम्मा गर्ने सहमति भएको ठीक अर्को दिन सदस्य राष्ट्रका प्रमुख नेताहरूलाई फोन गरी भिडियो कन्फरेन्सबारे जानकारी गराएका हुन् ।
“यूरो समूह राष्ट्रका अर्थमन्त्रीहरूबीच भएको सहमति एउटा महत्त्वपूर्ण कदम हो । यो असमान राहतबाट हामीले सङ्कटको भारलाई एक भएर सामना गर्नेछौँ,” मिसेलले भने ।
अर्थमन्त्रीहरूबीचको सहमति केही साताको बहसपछि भएको उपलब्धि हो तर इटाली, फ्रान्स र अन्य केही मुलुकले ईयू राष्ट्रहरूका लागि प्रकोपबाट प्रभावित मुलुकको अर्थतन्त्रलाई उकास्न संयुक्तरूपमा रकम उठाउन राखेका प्रस्तावमाथि सहमति भने हुन सकेको छैन ।
अर्थतन्त्रको सुधारका लागि उठाइएको बजेट कोषमा जम्मा हुने र यसलाई ईयूको दीर्घकालीन बजेटका रूपमा खर्च गरिनुपर्ने जर्मनीको राय छ भने अन्य मुलुकहरूले यसबारे छलफल हुनुपर्ने बताएका छन् ।
कोरोनाभाइरसको सङ्क्रमण र मृत्यु यूरोपका खासगरी जर्मनी, फ्रान्स र इटाली अत्यधिक देखिएको छ भने लामो समयसम्म व्यावसायिक गतिविधिमा समस्या आउँदा तुलनात्मक आर्थिक हिसाबले कमजोर मानिने अन्य ईयू राष्ट्रहरूमा आर्थिक मन्दी देखिएको छ । एएफपी







प्रतिक्रिया