टोकियो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित समयभन्दा एक वर्ष पछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ ।
टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोसिरो मुटोले अर्को वर्ष पनि ओलम्पिक हुन्छ भन्ने सुनिश्चित गर्न नसकिने बताएका हुन् । कोरोना प्रकोपको कारण प्रतियोगिता अनिश्चित नै रहेको उनको भनाइ छ ।
यसै वर्ष सन् २०२० मा हुने तय भएको प्रतियोगिता कोरोना भाइरसको सङ्क्रमणकै कारण ठीक एक वर्ष पछाडि सारेर अर्को वर्ष सन् २०२१ को जुलाई २३ देखि गर्ने निर्णय भइसकेको छ ।
प्रमुख कार्यकारी अधिकृत मुटोले प्रतियोिगता अझ धेरै दिन पछाडि सर्नसक्ने सम्भावना उत्तिकै रहेको बताएका छन् ।
जापानमा प्रधानमन्त्री सिन्जे आवेले यसै हप्तादेखि लागू हुनेगरी केही ठाउँका लागि संकटकालको समेत घोषणा गरेका छन् ।
“आगामी जुलाईसम्ममा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण भइसक्छ भन्ने कुरा कसैले भन्न सक्दैन, त्यसैले अहिले तोकिएकै मितिमा ओलम्पिक प्रतियोगिता हुन्छ भन्ने सुनिश्चत गर्न पनि मैले सक्दिन,” उनले भने ।
उनले पत्रकार अन्तरक्रियामा तोकिएकै मितिमा प्रतियोगिता हुनेबारे आफूसँग स्पष्ट जवाफ नभएको बताए ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत महिना सम्बन्धित निकायहरुले यसै वर्ष सन् २०२० मा हुने तय भएको टोकियो ओलम्पिक सारेर अर्को वर्ष सन् २०२१ को जुलाई २३ देखि र पारालोम्पिक अगस्ट २४ देखि गर्ने निर्णय गरेका थिए ।
प्रधानमन्त्री आवेले कोरोना भाइरसविरुद्धको लडाइँलाई छिटो छरितो, प्रभावकारी र सशक्त नबनाएकाले ओलम्पिक प्रतियोगिता सार्नु परेको भन्दै उनको आलोचना पनि भएको छ ।
प्रमुख कार्यकारी अधिकृत मुटोले प्रतियोगिता एक वर्ष पछाडि हुने मानेर नै तयारीको कामहरु तीव्र गतिमा अगाडि बढाइने बताए । उनले त्यतिबेलासम्म कोरोना भाइरसको सङ्क्रमण अन्त्य हुने विश्वास व्यक्त गरे ।
जापानमा कोरोना भाइरसका कारण शुक्रबारसम्ममा झण्डै पाँच हजार जना सङ्क्रमित भएका छन् भने झण्डै एक सय जनाको मृत्यु भएको छ । एपी
प्रतिक्रिया