नयाँ दिल्ली । भारतमा लगाइएको देशव्यापी २१ दिने लकडाउन लम्बिन सक्ने एक मुख्यमन्त्रीले बताएका छन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कोरोना भाइरसविरुद्धको लडाइँलाई सफल पार्न लकडाउन लम्बिनसक्ने बताएका हुन् ।
“भारतका सवै राज्यहरुले लकडाउनलाई पूर्णरूपमा कार्यान्वयन गराएका छन्, मलाई विश्वास छ, यही अप्रिल १४ तारिखसम्मका लागि यसअघि घोषणा गरिएको लकडाउनको अवधि थपिने छ,” रावतले एएनआईसँग भने ।
उनले उत्तराखण्ड राज्य कोरोना भाइरसको सङ्क्रमणको विषयमा पहिलो चरणमै रहेको पनि जानकारी दिए ।
तबलिगी जमातबाट फर्किएकाहरूका कारण सङ्क्रमणको खतरा रहे पनि उनीहरु सम्पर्कमा आएको राज्यले उचित व्यवस्थापन गरिरहेको उनको भनाइ छ ।
सुरुमा उनीहरुले अटेरी गरे पनि फौजदारी अभियोग लगाउने चेतावनी दिएपछि उनीहरु सम्पर्कमा आएर कोरोना नियन्त्रणसम्बन्धी नियमहरु अवलम्बन गरेको मुख्यन्त्री रावतले बताए ।
“फर्किएकाहरुलाई सुरुमा सम्पर्कमा आउन र स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको थियो, त्यतिबेला उनीहरुलाई यो कुनै तपाईंहरुको गल्ती नभई स्वास्थ्य समस्या हो, त्यसको उपचार गर्नु पर्दछ भनेका थियौँ,” उनले भने ।
त्यसपछि पनि आउन नमान्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिइएको मुख्यमन्त्री रावतले जानकारी दिए । आफ्नो प्रदेशमा दिनदिनै परीक्षणको कामहरु भइरहेको र दुई प्रकारको परीक्षण हुने गरेको उनले बताए ।
“हामीसँग झण्डै दस हजार व्यक्तिगत सुरक्षा सामग्री (पिपिई किट्स) ३० हजार मास्क र २५७ भेन्टिलेटरहरु छन्,” उनले भने । अहिले आफूहरूलाई एन–९५ मास्कको थप आवश्यकता नरहेको पनि उनले स्पष्ट पारे ।
उनले अहिलेसम्म भेन्टिलेटर प्रयोग गर्नु नपरेकोमा आफूहरु भाग्यमानी भएको पनि बताए । मुख्यमन्त्री रावतले उत्तराखण्ड राज्यमा अहिलेसम्म ३५ जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण देखिएको र तीमध्ये निको भएर घर फर्किसकेको जानकारी दिए ।
उत्तराखण्डमा कोरोना भाइरसका कारण अहिलेसम्म कसैको पनि मृत्यु भएको विवरण नआएको पनि उनले बताएका छन् । एएनआई







प्रतिक्रिया