न्यूयोर्क । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा एकै दिन एक हजार ९०० जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा कोरोनाभाइरस संक्रमितमध्ये हालसम्म १३ हजार ८८ जनाको ज्यान गइसकेको छ ।
पछिल्लो विवरणअनुसार अमेरिकामा कुल ४ लाख ६ हजार ६४४ मानिस संक्रमित भएको भेटिएको छ । अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा मृतकको संख्या ५ हजार ४८९ नाघिसकेको छ ।
न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले सामाजिक दूरी कायम नराखिए अझ बढी मानिस संक्रमित हुने र मृतकको संख्या पनि बढ्न सक्ने चेतावनी दिए ।
कोरोना संक्रमणबाट हालसम्म विश्वभर १४ लाख ६८ हजार ८३३ मानिस संक्रमित भएका छन् भने ८५ हजार ४४५ जनाको मृत्यु भइसकेको छ ।
यद्यपि कूल मृतकको संख्या युरोपेली मुलुकहरुमा सबैभन्दा बढी देखिएको छ । इटाली, स्पेन, फ्रान्स, स्पेन, नेदल्यान्ड्स, बेलायतजस्ता समृद्ध र बलियो स्वास्थ्य प्रणाली भएका राष्ट्रहरुमा कोरोना पीडितको संख्या बढी देखिएको छ ।
हालसम्म पहिलो स्थानमा रहेको इटालीमा कूल १७ हजार ६६९ जनाको मृत्यु भइसकेको छ भने एक लाख ३९ हजार ४२२ मानिस संक्रमित भएका छन् ।
कूल एक लाख ४६ हजार ६९० कोरोना संक्रमित भएको स्पेनमा १४ हजार ६७३ बढीको मृत्यु भएको छ । स्पेनका अधिकारीहरुले मंगलबार ७४३ र बुधबार ६२८ जनाको मृत्यु भएको देखिए पनि मृतकको संख्या घट्न थालेको बताएका छन् ।
फ्रान्समा भने एक लाख ९ हजार संक्रमित भएकामध्ये १० हजार ३२८ जनाको ज्यान गएको छ । फ्रान्सेली स्वास्थ्य निर्देशक जेरोम सोलोमोनले फ्रान्समा मृतकको संख्या अझै बढ्न सक्ने बताउँदै मृतकको संख्या अझै उच्च विन्दुमा पुगिनसकेको बताएका छन् ।
बेलायतमा ७ हजार ९७ जनाको मृत्यु भइसकेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनसमेत ६० हजार ७७३ बढी बेलायती नागरिक कोरोनाभाइरसबाट संक्रमित भएका छन् । प्रधानमन्त्री जोन्सनको लन्डनस्थित सेन्ट टमस अस्पतालको सघन उपचार कक्षमा राखेर विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको र अक्सिजन दिइएको छ ।
उता इरानमा मृतकको संख्या ३९९३ पुगेको छ भने चीनमा ३३३३, नेदरल्यान्ड्समा २२४८, बेल्जियममा २२४०, जर्मनीमा २०९६, स्वीट्जरल्यान्डमा ८९३, टर्कीमा ७२५ तथा ब्राजिलमा ६९९ जनाको ज्यान गएको छ ।
चीनले कोरोनाभाइरस उत्पत्तिको केन्द्र मानिएको हुबे प्रान्तको उहान सहरमा ७६ दिनदेखि जारी लकडाउन बुधबारदेखि हटाएको छ ।
करिब एक अर्ब ३७ करोड जनसंख्या रहेको भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७४९ पुगेको र १६४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा कूल संक्रमित ४१९६ रहेकामा ६० जनाको मृत्यु भएको, बंगलादेशमा १६४ जना संक्रमित पाइएकामा १७ जनाको मृत्यु भएको र श्रीलंकामा १८६ जना संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ । एपी/एएफपी
प्रतिक्रिया