वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बेलायती राजकुमार ह्यारी र राजकुमारी मेघनको अमेरिका बसाइको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएपछि बेलायती राजकुमार दम्पती आफ्नै सुरक्षा खर्चमा अमेरिकाको क्यालिफोर्निया पुगेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको अवस्था रहेकोले उनीहरुलाई सुरक्षा खर्च पनि उपलब्ध गराउन नसकिने जानकारी आइतबार दिएका थिए ।
बेलायती राजकुमार ह्यारी दम्पती अमेरिकाको क्यालिफोर्नियामा बस्न जान लागेका बेला अमेरिकी राष्ट्रपतिले सो धारणा राखेका हुन् । उनीहरु क्यानाडाबाट लस एन्जलस हुँदै त्यसतर्फ जान लागेका हुन् ।
राजकुमार दम्पती क्यालिफोर्नियातर्फ लाग्ने क्रममा राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत सो कुराको जानकारी गराएको अमेरिकी पत्रिका वासिङ्टन पोष्टले जानकारी दिएको छ ।
क्यानाडामा बस्दै आएको बेलायतका राजकुमार दम्पती आफ्नो निजी विमानबाटै क्यानाडाबाट लस एन्जलस सिटी उडेका थिए । क्यानाडा र अमेरिकाबीचको सीमा क्षेत्र बन्द गर्न लागेकोमा त्यसको केही दिनअघि उनीहरु उडेका थिए ।
कोरोना भाइरसका कारण क्यानाडा र अमेरिकाबीचको सो राज्यको सीमा क्षेत्र बन्द गर्न लागिएको यसअघि नै समाचारमा आएको थियो ।
ह्यारी दम्पत्ति केही महिनादेखि क्यानाडामा बस्दै आएका थिए । अहिले अमेरिकाको क्यालिफोर्निया पुगेका हुन् । उनीहरुले अबको केही समयपछि देखि नै बेलायतको राजपरिवारको सदस्य नरहने घोषणा गरिसकेका छन् ।
एक स्वतन्त्र र सामान्य नागरिकका रुपमा बस्न लागेका उनीहरुले आफ्नै विमानमा क्यालिफोर्निया जाने बताएपछि राष्ट्रपति ट्रम्पले आइतबार सो धारणा राखेको बताइएको छ ।
राष्ट्रपति ट्रम्पले आइतबार ट्वीट गरी अमेरिका कोरोना भाइरसको प्रकोपमा रहेकोले बेलायतको राजदम्पतीलाई आफ्नो देशले सुरक्षाको प्रबन्ध गर्न नसक्ने बताएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
साथै, सो ट्वीटमा आफू बेलायतकी महारानी र संयुक्त अधिराज्यको महान् साथी तथा प्रसंशकसमेत रहेको पनि राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् ।
उनीहरु अमेरिका आउनका लागि क्यानाडा छोडेको भन्ने मैले थाहा पाएको छु, म यो कुरा स्पष्ट गर्न चाहन्छु कि हामीले उनको सुरक्षा खर्चको व्यवस्थापन गर्न सक्नेछैनौँ– राष्ट्रपति ट्रम्पको ट्वीटमा भनिएको छ ।
उनको यो अभिव्यक्तिपछि राजदम्पतीका प्रवक्ताले भने बेलायती राजदम्पतीले अमेरिकासँग सुरक्षा सहयोगको याचना नगरेको स्पष्ट पारेका थिए ।
उनले एक विज्ञप्ति प्रकाशन गरेर अमेरिकाको तर्फबाट राजदम्पतीले सहयोगको याचना नगरेको र आफैँले सुरक्षा खर्चको व्यवस्थापन गर्ने तयारी पहिले नै गरिसकेको बताएका थिए ।
मेघन अमेरिकाको लस एन्जलस सहरमा हुर्किएकी हुन् । अहिले पनि उनकी आमा सोही सहरमा बस्दै आएकी छन् । त्यसैले उनीहरु लस एन्जलस पुगेका हुन् । त्यहीँबाट उनीहरु सोमबार नै क्यानिफोर्निया लागेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । एपी







प्रतिक्रिया