बिश्व घटना

लकडाउनले दसौँ लाख भारतीय मजदुरको बिचल्ली, प्रधानमन्त्री मोदीले मागे माफी

लकडाउनले दसौँ लाख भारतीय मजदुरको बिचल्ली, प्रधानमन्त्री मोदीले मागे माफी


नयाँ दिल्ली । भारतमा गत मंगलबार रातिदेखि सुरु भएको लकडाउनको कारण दसौँ लाख गरिब मजदुरलाई ठूलो असर परेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन् । 
 
दसौँ लाख मजदुरलाई परेको दुःख आफूबाट नलुकेको साप्ताहिक रेडियो सम्बोधन ‘मन की बात’ नामक कार्यक्रममा उनले बताएका हुन् । 
 
लकडाउन गर्नुभन्दा चार घन्टाअघिको मात्र सूचना दिएर उक्त कडा बन्देजको घोषणा गरिएको थियो । यस कदमको भारतमा निकै आलोचना हुँदै आएको छ । 
 
२१ दिनको लागि भएको लकडाउनबाट करिब एक अर्ब तीस करोड जनसङ्ख्या भएको भारतमा मजदूरहरु भोको र बेरोजगार भएका छन् । 
 
साप्ताहिक रेडियो सम्बोधनमा मोदीले भनेका छन्, “मलाई तपाईंहरुको समस्या थाहा छ, तर कोरोनाभाइरसविरूद्ध लड्ने अर्को कुनै उपाय छैन। यो जीवन र मृत्युको लडाईं हो र हामीले त्यो जित्नुपर्छ ।’
 
यसैबीच, करार र दैनिक ज्यालादारीका दसौँ हजार श्रमिक प्रतिबन्धलाई तोडेर आफ्ना घर फर्किरहेका बताइएको छ । 
 
प्रहरीले अन्तर्राष्ट्रिय समाचार संस्थालाई दिएको एक जानकारीअनुसार एकजना मजदुरले घर फर्कन २७० किलोमिटरको पैदल यात्राको प्रयास गरेपछि ज्यान गुमाएका थिए । एएनआई