पेरिस । विश्वभर कुल एक लाख ८८ हजार २९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने यसका कारण सात हजार ४९९ जनाको मृत्यु भइसकेको छ ।
सङ्क्रमितमध्ये कुल ८० हजार ८४८ जना निको भएर घर फर्किएका छन् भने अझै ९९ हजार ९५१ जनाले सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् ।
उपचाररतमध्ये ९३ हजार ४६० जना अर्थात् ९४ प्रतिशत व्यक्तिमा सामान्य खालको सङ्क्रमण देखिएको छ भने छ हजार ४९१ अर्थात् छ प्रतिशत व्यक्तिमा जटिल खालको सङ्क्रमण रहेको छ ।
चीनमा मङ्गलबारसम्म ८० हजार ८८१ व्यक्तिमा सङ्क्रमण भएकोमा तीन हजार २२६ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
त्यस्तै नयाँ सङ्क्रमितको सङ्ख्या २१ र विगत २४ घन्टामा १३ जनाको मृत्यु भएको एएफपीले विभिन्न स्रोतहरूबाट लिएको तथ्यांकमा उल्लेख छ ।
त्यसपछि बढी प्रभावित युरोपेली मुलुक इटालीमा २७ हजार ९८० व्यक्तिमा सङ्क्रमण भएको र दुई हजार १५८ व्यक्तिको सङ्क्रमणका कारण मृत्यु भएको छ ।
त्यस्तै, इरानमा १६ हजार १६९ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको, मङ्गलबार थप एक हजार १७८ जनामा सङ्क्रमण भेटिएको र सङ्क्रमणका कारण थप १३५ जनाको मृत्यु भएको छ ।
यससँगै कोरोना भाइरसका कारण इरानमा मृत्यु हुनेको सङ्ख्या ९८८ पुगेको छ ।
स्पेनमा मंगलबार थप दुई हजार व्यक्तिमा कोरोना भाइरसको पुष्टि भएको छ भने ४९९ को मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्रालयका अनुसार स्पेनमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणका कारण ४९९ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ११ हजार ४०९ जना पुगेको छ ।
कोरोना भाइरसका कारण बढी प्रभावित हुने मुलुकमध्ये स्पेन विश्वमा चौथो र युरोपमा दोस्रो मुलुक बनेको छ ।
भाइरसका कारण सबैभन्दा बढी चीन प्रभावित बनेको भए पनि पछिल्ला केही दिनमा चीनमा नयाँ सङ्क्रमण दर सरदर दुई अंकमा झरेको बताइएको छ ।
चीन पनि बढी प्रभावित मुलुक इटाली बनेको छ भने इरान तेस्रो स्थानमा रहेको छ ।
सङ्क्रमणको प्रभाव युरोपका अन्य राष्ट्रहरू फ्रान्स र जर्मनीमा पनि जटिल रहेको बताइएको छ । अमेरिकामा सङ्क्रमणका कारण कुल ९३ जनाको मृत्यु भएको छ भने चार हजार ७४४ जनामा सङ्क्रमण भेटिएको छ ।
अमेरिकामा पछिल्लो २४ घन्टामा सात जनाको मृत्यु भएको छ । एजेन्सी
प्रतिक्रिया