बिश्व घटना

कोरोना भाइरसविरुद्धको भ्याक्सिन पहिलोपटक एक महिलामा परीक्षण

कोरोना भाइरसविरुद्धको भ्याक्सिन पहिलोपटक एक महिलामा परीक्षण


काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगाउन वैज्ञानिकहरुको एक समूहले विकास गरेको भ्याक्सिन पहिलोपटक मानिसमा परीक्षण गरिएको छ । 
 
समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार वासिङ्टनको सियटल सहरमा रहेको केसर परमानेन्ट अनुसन्धान केन्द्रमा चार जनामा खोप परीक्षण गरिएको हो । 
 
यो खोपले कोरोना भाइरसविरुद्ध काम गर्छ कि गर्दैन भन्ने यकिनबारे पत्ता लगाउन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् । 
 
कोरोनाविरुद्धको खोप लिने पहिलो व्यक्ति दुई सन्तानकी ४३ वर्षीया जेनिफर हालर रहेकी छिन् । ‘यो मेरा लागि केही गर्न उत्साहजनक अवसर हो’, जेनिफर हालेरले समाचार संस्था एपीसँग भनेकी छन् । 
 
विश्वभरका वैज्ञानिकहरु भाइरसविरुद्धको खोप उत्पादन गर्न फास्ट ट्रयाक शैलीमा अनुसन्धानमा जुटिरहेका छन् । 
 
अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी भएका छन् । 
 
पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोपको मात्राले प्रतिरक्षा प्रणाली कुनै प्रतिक्रिया देखिएको वा नदेखिएको बारेमा परीक्षण हुनेछ । परीक्षण गर्न लागिएको भ्याक्सिनलाई एमआरएनए १२७३ को नाम दिइएको छ । 
 
वैज्ञानिकहरुले सो भ्याक्सिनको सफल परीक्षण भए सेवाग्राहीले प्रति भ्याक्सिन एक सय डलर तिर्नुपर्ने बताइएको छ । फोटोः टेड एस.वारेन (एपी)