मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना संक्रमणबाट इटालीमा मेयरको मृत्यु, एकै दिन ३६८ जनाको मृत्यु

कोरोना संक्रमणबाट इटालीमा मेयरको मृत्यु, एकै दिन ३६८ जनाको मृत्यु


रोम । इटालीमा आइतबार कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर छ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी नियन्त्रणका उपाय अबलम्बन गर्न बाध्य बनाएको छ । 
 
इटालीमा आइतबार कोरोनाको संक्रमणबाट ३६८ जनाको मृत्यु भएको छ । इटालीमा मृतकको संख्या यो समेत एक हजार ८०९ पुगेको छ । चीनपछि सबैभन्दा प्रभावित मुलुक अब इटाली भएको छ । 
 
यसैबीच, उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । इटालीका सञ्चारमाध्यमका अनुसार मेयर भ्यालोटीको शुक्रबार मृत्यु भएको हो ।
 
श्वासप्रश्वासमा समस्या देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो । फोक्सोमा अत्यधिक संक्रमणका कारण शुक्रबार उनको मृत्यु इटालीका सञ्चारमाध्यमले जनाएका छन् । चेने नगर कोभिड–१९ प्रभावित इटालीको लम्बर्डी क्षेत्रमा रहेको छ । 
 
यसैबीच, भ्याटिकनले पनि इस्टर सप्ताह समारोह रद्द गरेको छ । पोप फ्रान्सिस आइतबार भ्याटिकन सहरमा पैदल हिँडेर कोरोना भाइरस महामारीको शिकार भएकाहरूका लागि एउटा गिर्जाघरमा प्रार्थना गर्न गएका थिए । कोरोना भाइरसबाट प्रभावित फ्रान्स र स्पेनमा पनि क्याफे, पसल र रेस्टुरेन्टहरु बन्द गरिएका छन् । 
 
फ्रान्सले अति जरुरीबाहेकका व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले एक कदम अगाडि गएर मानिसहरूलाई स्वास्थ्य सेवा वा खाद्यान्न किन्न बाहेकका अरु काममा घर छोड्न प्रतिबन्ध लगाएको छ । 
 
जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्याण्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा सोमबारदेखि कडाइ गरेको छ । 
 
संयुक्त राज्य अमेरिकाले गत हप्ता युरोपका सबै मुलुकका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाएको थियो । नयाँ प्रतिबन्धले अमेरिकी विमानस्थलमा ठूलो भीडभाड र अन्यौलको वातावरण सिर्जना गरेको छ । 
 
विमानस्थलमा यात्रुहरूको ठूलो समूहले गुनासो गरे पनि कर्मचारीहरूले नयाँ प्रवेश नियमहरू र मेडिकल स्क्रीनिङमा कडाइ गरेका छन् । एएफपी