बिश्व घटना

कोरोना संक्रमणबाट इटालीमा मेयरको मृत्यु, एकै दिन ३६८ जनाको मृत्यु

कोरोना संक्रमणबाट इटालीमा मेयरको मृत्यु, एकै दिन ३६८ जनाको मृत्यु


रोम । इटालीमा आइतबार कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर छ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी नियन्त्रणका उपाय अबलम्बन गर्न बाध्य बनाएको छ । 
 
इटालीमा आइतबार कोरोनाको संक्रमणबाट ३६८ जनाको मृत्यु भएको छ । इटालीमा मृतकको संख्या यो समेत एक हजार ८०९ पुगेको छ । चीनपछि सबैभन्दा प्रभावित मुलुक अब इटाली भएको छ । 
 
यसैबीच, उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । इटालीका सञ्चारमाध्यमका अनुसार मेयर भ्यालोटीको शुक्रबार मृत्यु भएको हो ।
 
श्वासप्रश्वासमा समस्या देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो । फोक्सोमा अत्यधिक संक्रमणका कारण शुक्रबार उनको मृत्यु इटालीका सञ्चारमाध्यमले जनाएका छन् । चेने नगर कोभिड–१९ प्रभावित इटालीको लम्बर्डी क्षेत्रमा रहेको छ । 
 
यसैबीच, भ्याटिकनले पनि इस्टर सप्ताह समारोह रद्द गरेको छ । पोप फ्रान्सिस आइतबार भ्याटिकन सहरमा पैदल हिँडेर कोरोना भाइरस महामारीको शिकार भएकाहरूका लागि एउटा गिर्जाघरमा प्रार्थना गर्न गएका थिए । कोरोना भाइरसबाट प्रभावित फ्रान्स र स्पेनमा पनि क्याफे, पसल र रेस्टुरेन्टहरु बन्द गरिएका छन् । 
 
फ्रान्सले अति जरुरीबाहेकका व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले एक कदम अगाडि गएर मानिसहरूलाई स्वास्थ्य सेवा वा खाद्यान्न किन्न बाहेकका अरु काममा घर छोड्न प्रतिबन्ध लगाएको छ । 
 
जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्याण्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा सोमबारदेखि कडाइ गरेको छ । 
 
संयुक्त राज्य अमेरिकाले गत हप्ता युरोपका सबै मुलुकका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाएको थियो । नयाँ प्रतिबन्धले अमेरिकी विमानस्थलमा ठूलो भीडभाड र अन्यौलको वातावरण सिर्जना गरेको छ । 
 
विमानस्थलमा यात्रुहरूको ठूलो समूहले गुनासो गरे पनि कर्मचारीहरूले नयाँ प्रवेश नियमहरू र मेडिकल स्क्रीनिङमा कडाइ गरेका छन् । एएफपी