बिश्व घटना

अमेरिकी सेनाले कोरोनाको संक्रमण फैलाएको चीनको गम्भीर आरोप

अमेरिकी सेनाले कोरोनाको संक्रमण फैलाएको चीनको गम्भीर आरोप


बेइजिङ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले वुहानमा कोरोना भाइरस अमेरिकी सेनाले संक्रमण फैलाएको दाबी गरेका छन् । उनले शुक्रबार ट्विटमार्फत कोरोना इपिसेन्टर भनिएको हुबेइ प्रान्तको सेन्ट्रल वुहानमा नोभेल कोरोना भाइरस अमेरिकी सेनाले ल्याएको दाबी गरेका हुन् । 
 
जाओले आफ्ना दुई लाख ८७ हजार फलोअर्सलाई क्यानडास्थित षड्‌यन्त्र फैलाउने वेबसाइटले लगाएको आरोपको खण्डन गर्दै कोरोना भाइरस चीनको वुहानमा नभएर अमेरिकाबाट सुरु भएको कुरा शेयर गर्न आग्रह गरेका छन् । उनले वुहानको सी फुडबाट कोरोनाको संक्रमण नफैलिएको पनि दाबी गरेका छन् । 
 
‘मैले विश्वास गरेका धेरै कुराहरु एकाएक आश्चार्यजनक तरिकाले परिवर्तन भएका छन्’, उनको आधिकारिक ट्विटमा लेखिएको छ । तर, बेइजिङस्थित अमेरिकी दूतावासले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । 
 
अमेरिकी सेना गत अक्टोबरमा अन्तर्राष्ट्रिय सैनिक विश्व खेलकुदका लागि वुहानमा गएको थियो । उक्त कुरालाई जोड्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता यस्तो आरोप लगाएका हुन् । यो खबर साउथ चाइना मर्निङ पोस्टले सार्वजनिक गरेको हो ।
 
अहिले विश्वभरमा १२७ मुलुकमा कोरोनाको संक्रमण देखिएको छ । एजेन्सी