मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिका प्राइमरीः जो बाइडेन चारवटा राज्यमा विजयी, स्यान्डर्सको अवस्था नाजुक

अमेरिका प्राइमरीः जो बाइडेन चारवटा राज्यमा विजयी, स्यान्डर्सको अवस्था नाजुक


वासिङ्टन । डेमोक्रेटिक पार्टीका तर्फबाट भावी अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार छान्न भइरहेको चुनावमा अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेन चारवटा राज्यमा विजयी हुनु भएको छ । डेमोक्रेटिक पार्टीबाट चुनिने व्यक्तिले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्न पाउने छन् ।
 
पार्टीको यस प्राइमरी चुनावमा बाइडेन धेरै प्रतिनिधि चुनिने मिसिगन समेत मिजौरी, मिसिसिपी र इडाहोमा विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी बर्नी स्यान्डर्सलाई पछिल्लो चुनावी नतिजाले ठूलो धक्का लागेको विश्लेषण गरिएको छ । 
 
बाइडेनलाई कामकाजी मतदाता र अफ्रिकन अमेरिकन समुदायको ठूलो समर्थन रहेको छ । अमेरिकी चुनावमा यी दुई पक्षको समर्थन चुनावी नतिजा आफ्नो पक्षमा पार्न निकै महत्वपूर्ण रहने गरेको छ । उता सिनेटर स्यान्डर्सले भने नर्थ डकोटा र वासिङ्टन स्टेटमा जित दर्ता गरेका छन् । 
 
फिलाडेल्फियामा समर्थकहरुलाई सम्बोधन गर्दै बाइडेनले सुरुआती चुनावी दौडमा कमजोर नतिजा ल्याएपछि धेरै व्यक्तिले निराशा व्यक्त गरेको भए पनि अहिले परिस्थिति फेरिएको र आफू चुनावी प्रतिस्पर्धामा रहेको बताए । उनले स्यान्डर्सका समर्थकहरुलाई पनि आफूलाई मतदान गर्न आग्रह गरे । 
 
“मलाई तपाईंहरुको सहयोग चाहिएको छ, र तपाईं हरेकको योगदान मेरो चुनावी अभियानमा जरुरी छ । म बर्नी स्यान्डर्स र उहाँका समर्थकहरुलाई अविश्रान्त मिहिनेतका लागि धन्यवाद दिन चाहन्छु । हामी सबैको साझा लक्ष्य छ, त्यो भनेको हामी सबै मिलेर डोनाल्ड ट्रम्पलाई परास्त गर्नु हो ।” 
 
एपीको चुनावी विश्लेषणअनुसार हालसम्म जो बाइडेनले ८२३ र बर्नी स्यान्डर्सले ६६३ जना मत–प्रतिनिधि जितेका छन् । राष्ट्रपतिमा मनोनयन हुन बाइडेनलाई अझै ११६८ र स्यान्डर्सलाई १३२८ मत आवश्यक छ । एपी