मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको छवटा राज्यमा राष्ट्रपतिका डेमोक्रेटिक उम्मेदवार छान्न मतदान सुरु

अमेरिकाको छवटा राज्यमा राष्ट्रपतिका डेमोक्रेटिक उम्मेदवार छान्न मतदान सुरु


डिट्रोइट । अमेरिकाको मिसिगनसहित छवटा राज्यमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार छान्न मतदान सुरु भएको छ । यस चुनावमा पार्टीका दुई वरिष्ट सदस्यहरु जो बाइडेन र बर्नी स्यान्डर्स चुनावी मैदानमा छन् । 
 
डेमोक्रेटिक पार्टीका तर्फबाट यी दुई नेतामध्ये एकले रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार भएका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आगामी नोभेम्बरमा चुनावमा भिड्नेछन् । 
 
चुनाव भइरहेका राज्यहरुमा मिसिगनसहित इडाहो, मिसिसिपी, मिजौरी, नर्थ डकोटा र वासिङ्टन स्टेट रहेका छन् ।
 
यी छवटा राज्यमध्ये सबैभन्दा बढी पार्टी प्रतिनिधि चुनिने मिसिगनतर्फ दुवै उम्मेदवारले विशेष ध्यान दिएका छन् । अघिल्ला चुनावमा मध्यम प्रदर्शन गरेका स्यान्डर्सले मिसिगनको चुनाव जितेमा मात्र उनको भावी यात्रा केही सहज हुनेछ । 
 
राष्ट्रपतिको चुनावी दौडमा उभिएका सबैजसो उम्मेदवारले बाइडेनलाई समर्थन गरिसकेकाले सिनेटर स्यान्डर्सलाई चुनाव जित्न निकै हम्मे पर्ने आँकलन गरिएको छ ।
 
अघिल्लो मङ्गलबार १४ वटा राज्यमा भएको चुनावमा बाइडेनले १० वटा राज्यमा तथा स्यान्डर्सले ४ वटा राज्यमा विजय हात पारेका थिए । यसबाट बाइडेनको पक्ष निकै बलियो भएको थियो । 
 
मतदानका लागि मतदान स्थलमा पुगेका अधिकांश मतदाताले राष्ट्रपति ट्रम्पलाई परास्त गर्न सक्ने उम्मेदवार छान्नु नै अहिलेको सर्वाधिक महत्वपूर्ण पक्ष रहेको बताएका छन् । एएफपी