अमेरिका – टेक्ससमा मंगलवार, मार्च ३, २०२० सम्पन्न डेमोक्रेटिक प्राइमरी अन्तर्गत कंग्रेसनल डिष्ट्रिक्ट-२२ बाट श्री प्रेष्टन कुलकर्णी ५३.०५ प्रतिशत मतदाताको समर्थन सहित आगामी नोभेम्वरमा हुने चुनावका लागि डेमोक्रेटिक उम्मेदवार हुने पक्का भएका छन्। उनले उनका प्रतिस्पर्धी डेमोक्रेट डेरिक रिडलाई (२४.७%) आधा भन्दा बढी मतले पछि पारेका छन्।
अमेरिकी कुटनैतिक सेवामा १४ बर्ष भन्दा बढी सेवा गरेका ४१ बर्षीय कुलकर्णी भारतीय-अमेरिकन समुदायलाई समेत प्रतिनिधित्व गर्दछन्। सन् २०१८ को चुवावमा पनि झिनो मतान्तरबाट रिपब्लिकन कंग्रेसम्यान पेट ओल्सनसंग पराजित भएका कुलकर्णी यो पटक जित्न सक्ने संभावना भएका निकै सक्रिय डेमोक्रेट हुन्।
सोही प्राइमरीमा कुनै पनि रिपव्लिकन उम्मेदवारले ५० प्रतिशत र थप एक मत पाउन नसकेकाले टेक्ससको कानून अनुसार अब सबभन्दा बढी मत पाउने ट्रोय नेल्स (४०.५%) र क्याथलिन वाल (१९.४%) ले आगामी मार्च २६ मा हुने दोश्रो चरणको प्राइमरीमा प्रतिस्पर्धा गर्नु पर्ने भएको छ।
उक्त प्राइमरी अन्तर्गत राष्ट्रपतिमा डेमोक्रेट प्रतिस्पर्धीहरु जो बाइडनले ३४.४९% पाएर टेक्ससमा अग्रता लिए भने बर्नी स्याण्डर्सले २९.९८% मत पाएका छन्।
झण्डै ४० बर्षदेखि रिपब्लिकनको पकडमा रहेको चुनाव क्षेत्रमा जीत निकाल्न डेमोक्रेटहरुका लागि चुनौती कै विषय भएपनि हालका रिपब्लिकन कंग्रेसम्यान ओल्सनले पून उम्मेदवार नहुने घोषणा गरेकाले कुलकर्णीका लागि सहज हुन सक्ने अनुमान गरिएको छ। अमेरिका मै सबभन्दा बढी जातीय विभितता भएको शहर ग्रेटर ह्युस्टनको ‘सव-अर्वन’ क्षेत्र समेटिएको उनको चुनाव क्षेत्रमा रहेका भारतीय-अमेरिकन, ल्याटिनो, नेपाली-अमेरिकन लगाएत अन्य एशियाली मूलुकका मतदाताहरुलाई समेट्न सके भने उनको जीत असंभव छैन।
मन्दिर, चर्च तथा मस्जिदहरुमा हुने सामुदायिक कार्यक्रमहरुमा गएर मतदाताहरुसंग अन्तरक्रिया गरिरहेका कुलकर्णीले प्राइमरीका बेला देखाएको सक्रियता आगामी नोभेम्वरमा हुने निर्वाचनका लागि पनि देखाउनु पर्ने हुन्छ। अंग्रेजी र हिन्दीका अलावा स्पेनिश, हिब्रु, रसियन र चाइनिज भाषामा समेत दख्खल राख्ने कुलकर्णीका लागि स्थानीय समुदायसंग उनीहरुकै भाषामा अन्तरक्रिया गर्न सजिलो भैरहेको उनका प्रचार समूहका सदस्यहरुले हिमालय खबरसंग बताएका छन्।
गत चुनावमा निकै कम मतान्तरले पराजित भएकाले यो पटक जित निकाल्न सके भने कुलकर्णीले टेक्ससबाट अमेरिकी कंग्रेसमा प्रतिनिधित्व गर्ने भारतीय अमेरिकन समुदायको पहिलो व्यक्तिको रुपमा इतिहास बनाउने छन्।
हार्वर्ड विश्वविद्यालयको केनेडी स्कूलबाट एमपीए गरेका कुलकर्णीले डेमोक्रेटहरुले उठाउॅदै आएका विषयहरु- सबैका लागि स्वास्थ्य वीमा, स्वास्थ्य उपचारको खर्च र औषधीको मूल्य कटौतीलाई प्रमुख मुद्दा बनाएका छन्। यस अतिरिक्त कर प्रशासनमा सुधार र साना व्यवसायलाई प्रवर्ध्दन गर्ने, राजनीतिमा देखिएको चरम दलीय बिभाजन र बैमनश्यतालाई कम गर्न हाउसका अरु सदस्यसंग छलफल गर्ने योजना पनि बनाएका छन्। उनले सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि यथेष्ट बजेट व्यवस्थापन, बन्दुक-हिंसालाई कम गर्ने उपायको पहिचान, मेडिकेयर लगाएत सामाजिक सुरक्षाका लागि बजेट कटौती हुन नदिने र अपराध नियन्त्रण न्याय प्रणालीमा सुधार जस्ता बिषय पनि उठाएका छन्।
भारतीय महाद्वीपका आप्रवासी-अमेरिकनहरुका समस्यासंग परिचित भारतीय-अमेरिकन उम्मेदवार कुलकर्णीले आफ्नो जीतलाई सुनिश्चित गर्न उनको निर्वाचन क्षेत्रमा रहेका नेपाली-अमेरिकन समुदायसंग समेत हातेमालो गर्नुपर्ने उनको चुनावी प्रक्रियालाई नजिकबाट नियालीरहेका नेपाली समुदायमा सक्रिय बच्चा तिवारीको तर्क छ। नेपाली समुदायले समेत कुलकर्णीलाई सहयोग गर्नु उपयुक्त हुने ह्युस्टनका समाजसेवी एवं बरिष्ठ पत्रकार तारा बरालको भनाई छ।
प्रतिक्रिया