हिमालयखवर संवाददाता
अमेरिका- कोरोना भाइरस स्वास्थ्य समस्या मात्र नभई यसले अव अर्थतन्त्रमा पनि नकरात्मक प्रभाव पार्न शुरु गरेको छ ।
कोरोना भाइरसले शेयर, तेल, सुन, एयरलाइन्स बजारमा असर पारिसकेको छ । यो भाइरस विश्व व्यापी बन्दै जांदा आर्थिक सुस्ती गहिरो वन्ने अर्थशास्त्रीले वताएका छन् ।
अमेरिकी शेयर बजारमा यो साता कोरोना भाइरसका कारण पहिरोनै गयो । करिव एक साता यता मात्र अमेरिकाको शेयर बजार करिव १० प्रतिशतले शेयर मूल्य तल झर्यो । शेयर कारोवारको मुख्य डो जोन्स डन्डेक्समा २५ सय भन्दा वढीले गिरावट आएको छ । । यसले गर्दा लगानीकर्ताले अरर्बौ डलर गुमाएका छन् ।
कच्चा तेलको मूल्य विश्व बजारमा यो साता प्रति ब्यारेल ५० अमेरिकी डलर भन्दा तल झरेको छ । यो भनेको प्रति ग्यालन तेलको मूल्य २ डलरको हाराहारीमा झर्नु हो । यो उपभोक्ताका लागि राम्रो भएपनि तेल कम्पनी र तेल उत्पादक देशहरुले भने ठुलो आम्दानी गुमाउन पुगेका छन् ।
तेल र शेयर बजार घटेकाले लगानीकर्ताहरुले सुरक्षित लगानीका लागि सुनमा आकर्षित भएका छन् । त्यसले सुनको मूल्य भने वढेको छ ।
सुन मूल्य नेपालमा प्रतितोला ८० हजार रुपैंया पुग्नुको कारण पनि यही कोरोना भाइरस नै हो ।
अमेरिकी शेयर बजारलाई हेर्नु भएको छ भने यो साता तनाव नै तनाव रह्यो । शेयर बजारको यो प्रवृत्तिले अन्य क्षेत्रमा असर परेर अमेरिकामा आर्थिक मन्दी आउंछ कि भन्ने जोखिम पनि देखिएको छ ।
चीनको अर्थतन्त्रमा कोराना प्रभाव परिसकेको छ । विस्तारै यसवाट जापान र दक्षिण कोरियाको अर्थतन्त्रपनि चपेटामा परेका छन् ।
यदी अमेरिकामा कोरोना भाइरस बृद्धि हुदैं गयो भने कयौं व्यवसाय बन्द हुने छन् । स्कुलहरु बिदा हुने छ । होटलमा पर्यटक हुने छैनन् । त्यस वेला अमेरिकामा आम्दानी घट्ने रोजगारीका अवसर कम हुने हुन्छ । यसले घरजग्गा कारोवारमा मन्दीपनि ल्याउन सक्छ ।
चीनवाट शुरु भएको कोरोना भाइरस अहिले विश्वका ५० भन्दा वढी देशमा फैलिएको छ । दक्षिण कोरिया, जापान, इरान, इटाली लगायतका देशमा यो ठुलो समस्या वनी सकेको छ । यो भाइरसका कारण करिव २८ सयको मृत्यु भएको छ, भने ८० हजार भन्दा वढी प्रभावित भएका छन् ।
अतिनै सरुवा प्रवृत्तिको यो भाइरसवाट क्यालिफोर्नियामा यसै साता एक जनामा पाइएको छ । उनमा यो भाइरस कसरी आयो अनुसन्धान भईरहेको छ । भाइरस प्रभावित क्ष्ँेत्रमा नभएका ति व्यक्तिको अहिले उपचार भईरहेको छ । यसले अमेरिकामा भने कोरोना भाइरसको प्रकोप अरु वढ्न सक्ने जोखिम बढेको छ ।
अमेरिकाले यो भाइरस विस्तार हुन नदिन पूर्व तयार भने शुरु गरेको छ ।
नेपालको चिन्ता:
ठुलो संख्यामा नेपाली बसोवास गर्ने कोरिया, हगंकगं, र खाडी मुलुकमा कोरोना भाइरसको प्रकोप वढ्न थालेको छ । त्यसले गर्दा त्यहां कयौं नेपालीहरु प्रभावित भएका छन् । यसको रेमिट्यान्समा पर्ने असर देखिन बांकी छ ।
यदी खाडी मुलुकमा कोरोना भाइरस थप विस्तार भयो भने यसले नेपालको रेमिट्यान्सको मुख्य स्रोत प्रभावित हुने छ । खाडीमा कोरोना भाइरस बढेमा कयौं नेपालीहरुलाई त्यहांवाट फिर्ता ल्याउनु पर्ने हुन्छ । यसले नेपालको अर्थतन्त्रलाई समेत संकटमा पार्न सक्छ ।
नेपालको पर्यटन व्यवसायभ भने प्रभावित हुन थालिसकेको छ । कयौं पर्यटकले नेपाल भ्रमण रद्द गरेका समाचारहरु आएका छन् । होटलहरुमा पर्यटकको संख्या कम भएको छ ।
प्रतिक्रिया