मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चर्चमा विस्फोट गर्ने आठ जनालाई मृत्युदण्ड : इजिप्ट

चर्चमा विस्फोट गर्ने आठ जनालाई मृत्युदण्ड : इजिप्ट


कायरो । इजिप्टको चर्च र प्रहरी सुरक्षा जाँचस्थलमा विस्फोट गराएको भनी अभियोग लागेका आठ जनालाई मृत्युदण्ड दिएको न्यायिक तथा स्वास्थ्य स्रोतले मङ्गलबार जनाएको छ ।
 
गतवर्ष मृत्युदण्डका लागि सजाय सुनाइएका उनीहरूले सन् २०१८ को मे मा आफूहरूलाई दिइएको मृत्युदण्डमाथि पुनरावलोकनका लागि अन्तिम पुनरावेदन गर्न पुगे पनि अदालतले त्यसलाई अस्वीकार गरेको थियो । 
 
स्रोतका अनुसार आठै जनालाई स्थानीय समयअनुसार सोमबार बिहानै मृत्युदण्ड दिइएको हो । उनीहरू गतवर्षको अक्टोबरमा सैन्य अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका १७ जनामध्ये थिए ।
 
इजिप्टको अलेक्जेन्ड्रिया, कायरो, टान्टास्थित विभिन्न चर्च र दक्षिणपश्चिम क्षेत्रको एउटा प्रहरी सुरक्षा जाँच केन्द्रमा विस्फोट गराएकोमा उनीहरूलाई दोषी ठहर गरिएको थियो । सन् २०१६ र सन् २०१७ मा गराइएका विस्फोटमा गरी उनीहरूले प्रायः क्रिश्चियन धर्मावलम्वीहरूसहित ८८ जनाको हत्या गरेका थिए ।
 
सजाय पाएका अन्य नौजना भागिरहेकाले उनीहरूलाई सुरक्षाकर्मीले अझै पक्राउ गर्न सकेको छैन । 
 
इजिप्टमा तत्कालिन इस्लामिक राष्ट्रपति मोहम्मद मोर्सीलाई पदच्युत गरी सेनाको सहयोगमा राष्ट्रपति बनेका अब्देल फताह अल–सिसी सन् २०१४ मा सत्तामा पुगेपछि मृत्युदण्डका घटना वृद्धि भएका छन् ।
 
मानव अधिकारवादी अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले मृत्युदण्डको विरोध गरेको छ । उसले सामूहिक मृत्युदण्ड पाएका उनीहरूको अपराध स्वतन्त्ररूपमा पुष्टि नभएको आरोप लगाएको छ । 
 
एम्नेस्टी इन्टरनेशनलले मृत्युदण्डले कसैलाई न्यायको नदिने भन्दै अपराधको विकल्प अपराध हुन नसक्ने र मारिएका ती व्यक्तिलाई सेनाले अन्यायपूर्ण (एकपक्षीय) सुनुवाइ गरी दोषी ठहर गरेको बताएको छ । “अभियोग लागे पनि हरेक नागरिकमाथि न्यायिक सुनुवाइको सुनिश्चितता हुनुपर्छ ।” एएफपी