मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

सांसद उपाध्यायको निधनले अपूरणीय क्षति : सभापति देउवा

सांसद उपाध्यायको निधनले अपूरणीय क्षति : सभापति देउवा


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको निधनले राष्ट्र र पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् । 
 
काँग्रेस संसदीय दलले आयोजना गरेको श्रद्धाञ्जलीसभामा उनले स्व उपाध्याय गाउँमै जनतासँग काम गर्न रुचाउने नेता भएको स्मरण गर्दै उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताए । राष्ट्रवादी र प्रजातन्त्रवादी छविका नेता उपाध्यायले नेपालका लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय योगदान पु¥याउनुभएको सभापति देउवाले उल्लेख गरे । 
 
श्रद्धाञ्जलीसभामा काँग्रेस महामन्त्री डा शशांक कोइरालाले उपाध्यायको निधनले मर्माहित तुल्याएको बताउँदै राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानका कारण उनको सधैँ चर्चा हुने उल्लेख गरे । 
 
पार्टीका कोषाध्यक्ष सीतादेवी यादवले अल्पायुमै निधन भएका उपाध्यायले आफ्नो जीवनकालमा गरेको राजनीतिक र सामाजिक योगदान अविस्मरणीय रहेको बताए । 
 
राष्ट्रियसभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले स्व उपाध्याय केन्द्रमा भन्दा जिल्लामै जनताका विकास निर्माणका काममा व्यस्त रहँदै आएको उल्लेख गर्दै तराई क्षेत्रमा ठूलो प्रभाव भएका नेता काँग्रेसले गुमाउँदा पार्टीलाई अपुरणीय क्षति पुगेको बताए । 
 
काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रजातान्त्रिक आन्दोलन र पार्टी संगठनमा ठूलो योगदान गरेका होनाहार नेता पार्टीले गुमाएको उल्लेख गर्दै उपाध्यायले प्रतिकूल अवस्थामा पनि जिल्ला मै बसेर पार्टी सङ्गठनका लागि गरेको योगदान स्मरण गरे । 
 
सार्वजनिक लेखा समितिका सभापति एवं काँग्रेस नेता भरत शाहले मधेशको खम्बा, जुझारु पार्टीका नेता गुमाउनुपर्दा मर्माहत भएको बताए ।    
 
क्यान्सर रोगबाट पीडित सांसद् उपाध्यायको उपचारका क्रममा गृहजिल्ला रुपन्देहीमा यही फागुन २ गते निधन भएको थियो । विसं २०२६ मा जन्मिएका उपाध्याय विसं २०४६ सालका जनआन्दोलनदेखि काँग्रेसमा सक्रिय रहँदै आएका थिए । 
 
विसं २०५४ को स्थानीय निर्वाचनमा रुपन्देहीको साविक मधुवनी गाविसमा उनी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए भने उपाध्याय काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशन कार्यकाल क्षेत्रीय सभापतिसमेत रहेका थिए । 
 
विसं २०७४ मा उनी काँग्रेसका तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएका थिए । सामाजिक क्षेत्रमा समेत योगदान गरेका उनी हाल लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य तथा विभिन्न समाजिक संघसंस्थामा संलग्न रहँदै आएका थिए । श्रद्धाञ्जलीसभाले उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

शेयर गर्नुहोस:

0
Shares