बिश्व घटना

कोरोना भाइरसबाट मर्नेको संख्या १६६५ पुग्यो, फ्रान्समा पनि एक चिनियाँ पर्यटकको मृत्यु

कोरोना भाइरसबाट मर्नेको संख्या १६६५ पुग्यो, फ्रान्समा पनि एक चिनियाँ पर्यटकको मृत्यु


काठमाडौँ । चीनको वुहान सहरबाट महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट आइतबार बिहानसम्म १६६५ जनाको मृत्यु भएको छ । फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ । 
 
फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले “चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस [कोभिड–१९] बाट फ्रान्समा एक ८० बर्षीय चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको” बताएका छन् । 
 
एसिया महादेशभन्दा बाहिर यो भाइरसको सङ्क्रमणबाट भएको यो नै पहिलो मृत्यु हो । बुजिनका अनुसार फ्रान्समा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएका अन्य छ जनाको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको छ । 
 
बुजिनले भने “फ्रान्समा मृत्यु भएका चिनियाँ पर्यटकलाई जनवरीको अन्त्यतिर पेरिसस्थित उक्त अस्पतालमा एकान्तमा राखी सेवा प्रदान गरिएको थियो । केही दिनयता उनको स्वास्थ्य अवस्था ‘निकै बिग्रिएको’ थियो ।” चिकित्सकको अथक प्रयासका वाबजुत उनलाई बचाउन नसकिएको स्वास्थ्यमन्त्रीले बुजिनले बताएका छन् । 
 
चीनको मध्य क्षेत्रस्थित हुबेईको राजधानी वुहानबाट गत वर्षको डिसेम्बरमा देखा परेको यो नयाँ भाइरसका कारण चीनमा एक हजार ६६५ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म मुख्यभूमि चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा गरी कूल चार जनाको मृत्यु भएको छ ।
 
चीनमा कोभिड–१९ का कारण अहिलेसम्म ६८ हजार ५०० व्यक्ति सङ्क्रमित र्भसकको पुष्टि गरिएको छ । चीनको वुहान र आसपासका स्थानमा रहेका करिब पाँच करोड ६० लाख व्यक्तिलाई रोग फैलिनबाट रोक्नका लागि क्वारेन्टाइनमा राखिएको छ । 
 
चीनबाहिर झण्डै ६०० व्यक्तिलाई कोभिड–१९ को सङ्क्रमण भएको र यसमध्ये करिब ३५ जना यूरोपेली संघ (इयू) सदस्य राष्ट्रमा पनि रहेको बताइएको छ । 
 
चीनमा १७०० भन्दा बढी डाक्टर कोरोना भाइरसबाट संक्रमित बनेका छन् । यो भाइरसका कारण आइतबारमात्रै १४२ जनाको एकैपटक मृत्यु भएको समाचारमा जनाइएको छ । एएफपी