भारत । भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप)ले मङ्गलबार साँझ ८ः३० सम्ममा ५५ सीटमा विजय भएको छ भने अझै सातमा अग्रता लिएको छ ।
कुल ७० सीटको विधान सभामा आपले ५५ सीटमा विजय गर्दा भारतीय जनता पार्टीले जम्मा छ स्थानमा जीत निकालेको छ भने केन्द्रमा प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले कुनै पनि स्थान सुरक्षित गर्न नसकेको देखिएको छ ।
दिल्ली विधान सभामा कङ्ग्रेसले मतगणनाको प्रारम्भिक चरणमा एक दुई स्थानमा अग्रता लिए पनि यो धेरै समय टिक्न सकेन । कडा सुरक्षाको बीचमा सहरभरिका २१ केन्द्रहरूमा मतगणना गरिएको थियो ।
निर्वाचनको अन्तिम परिणाम आउन अझै केही समय लाग्ने भारतीय निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् ।
दिल्लीका मुख्य मन्त्री केजरीवाल विधान सभाका लागि भारी मतले विजय भएका छन् । आपका केजरीवालले ४६ हजार ७५८ मत ल्याउँदा भारतीय जनता पार्टी (भाजपा)का सुनील कुमार यादवले कुल २५ हजार ६१ मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगको साँझ नौ बजेसम्मको तथ्यांकमा आपले सबैभन्दा बढी ५३.०६ प्रतिशत मत प्राप्त गरेको छ भने भाजपाले ३८ प्रतिशत मत पाएको छ । कुनै पनि सिट नजितेको कङ्ग्रेसले निकै थोरै चार प्रतिशत पाएको छ । एनएआई







प्रतिक्रिया