अमेरिका । नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक एवम् वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधनप्रति नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले गहिरो दुःख व्यक्त गरेको छ ।
नेपालको टेलिभिजन पत्रकारिताका एक हस्तीको रुपमा रहेका शर्माको निधनले नेपाली पत्रकारिताको क्षेत्रमा क्षति पुग्न गएको भन्दै नेपाल अमेरिका पत्रकार संघ (नेजा)का कार्यवाहक अध्यक्ष विकासराज न्यौपाने र महासचिव किरण मरहठ्ठाले संयुक्त शोक वक्तव्यमार्फत शोक व्यक्त गरेका छन् ।
‘वरिष्ठ पत्रकार शर्माको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्वाञ्जलीसहित शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ’, वक्तव्यमा भनिएको छ ।
विसं २००४ साल जेठ १४ गते इलामको फिक्कलमा जन्मिएका शर्मा परिवारसहित नयाँ बानेश्वरमा बस्दै आएका थिए । उनको उपचारका क्रममा निधन भएको हो । मुटु र मिर्गौला रोगबाट ग्रसित भई काठमाडौँ महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत शर्माको मंगलबार बिहान निधन भएको हो ।
नेपाल टेलिभिजनका संस्थापकमध्ये एक रहेका ७२ वर्षीय शर्मा त्यहाँ समाचार प्रस्तोतादेखि नायब महाप्रबन्धक हुँदै महाप्रबन्धक रहेका थिए । विसं २०४२ पुस १४ गते टेलिभिजनको प्रशारण गर्दा उनी पहिलो प्रस्तोता रहेका थिए ।
उनी टेलिभिजनका अगुवाका रुपमा चिनिन्थे । उनी रेडियो नेपालमा समाचारवाचक र गोरखापत्रमा समेत काम गरिसकेका छन् । शर्माको श्रीमती र दुई छोरा छन् । उनका वरिष्ठ साहित्यकार तारानाथ शर्मा, चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा र इन्जिनियर पुष्पनाथ शर्मा दाजुभाइ रहेका छन् ।







प्रतिक्रिया