बिश्व घटना

कोरोनाबाट चीनमा ४२५ जनाको मृत्यु, हङकङमा एक व्यक्तिको ज्यान गयो

कोरोनाबाट चीनमा ४२५ जनाको मृत्यु, हङकङमा एक व्यक्तिको ज्यान गयो


हङकङ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन् । 
 
हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा  कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनी १३ औं व्यक्ति थिए ।  
 
उपचाररत ती व्यक्तिको स्वास्थ्य अवस्था बिग्रिएसँगै मङ्गलबार बिहान मृत्यु भएको हो । हङकङको व्याम्पो गार्डेनमा बसोवास गर्दै आएका ती व्यक्ति गत जनवरी २१ मा हङकङबाट उहान र जनवरी २३ मा हङकङ फर्किएका थिए । 
 
मङ्गलबारसम्म चीनमा यस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२५ पुगिसकेको समाचार संस्था एएफपीले जनाएको छ । यस भाररसबाट सङ्क्रमण भएका २ हजार १४३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । भाइरस सङ्क्रमण ३९६ जनालाई अस्पतालबाट घर फर्काइएको छ । 
 
हुबेइ प्रान्तका सहायक गभर्नर सिआयो जुवाले उक्त प्रान्तमा स्वास्थ्य उपचार र सतर्कताको काममा कुनै कसर बाँकी नराखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । 
 
उनले चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको बताएका छन् । यता चीनको केन्द्र सरकारले पनि उहानलगायतका धेरै सहरमा मानिसको आवतजावत रोक्नाका साथै सवारीसाधनहरु पूर्णरुपमा बन्द गरेको छ । 
 
यसअघि फिलिपिन्समा पनि आइतबार एक जनाको ज्यान गएको थियो । उनी उहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 
 
ती चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएलगत्तै फिलिपिन्स सरकारले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ । “चीनबाहिर कोरोना भाइरसका कारण व्यक्तिको मृत्यु भएको यो पहिलो घटना हो,” डब्लुएचओले भनेको छ । एएफपी