मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

टेक्ससका स्टोर र ग्याँस स्टेशनमा कामदारको अभाव

टेक्ससका स्टोर र ग्याँस स्टेशनमा कामदारको अभाव


रामचन्द्र भट्ट-
ड्यालस (टेक्सस) । शनिबार साँझ एउटा वैवाहिक पार्टीमा सामेल भएका गैर आवासीय नेपाली संघ (एनआरएनए) टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्याल स्टोरमा काम गर्ने मानिस नपाएको गुनासो गर्दैथिए । टेक्ससकै विचिटाफल्स नजिकै स्टोर व्यबसाय गर्दै आएका अर्का व्यबसायी दिपेन्द्र भट्ट पनि इमान्दार काम गर्ने कर्मचारी नपाउँदा समस्या परेको अनुभव साट्दैथिए ।
 
पछिल्लो समयमा टेक्ससमा व्यबसाय गर्ने नेपालीको संख्यामा भारी वृद्धि भएको छ । ग्याँस स्टेशन, कन्भिनेन्स स्टोर, लिकर स्टोरमा नेपालीको लगानी बढ्दो छ । यो क्रम दिनानुदिन बढ्दो छ । तर निर्धारित समयमा आएर स्टोर खोल्ने र बन्द गर्ने कामदार नपाएर धेरै व्यबासायीहरुलाई व्यबसाय निल्नु र ओकल्नु भएको छ । 
 
कामदारको माग गर्दै व्यबसायीले बिभिन्न फेसबुक पेजहरु, व्यक्तिगत रुपमा सूचना सम्प्रेषण गरिरहेका छन् । तरपनि कामदार पाउन सकिरहेका छैनन् ।
 
‘धेरै नेपाली व्यबसायीको रोजाई नेपाली कामदारनै हुन्छ । त्यसो हुँदा पनि कामदार कर्मचारी नपाएको जस्तो लाग्छ,’ व्यबसायी तथा नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष सुमन थापा भन्छन् । श्वेत, अश्वेत, अन्य देशहरुबाट आएकाहरुलाई काममा लगाउन सक्ने हो भने कामदारको खासै समस्या नहुने उनको अनुभव छ ।
 
कुनै समय आप्रवासीका लागि निकै सहज र ‘हट–जब’ का रुपमा लिइने स्टोर, ग्याँस स्टेशनको क्लर्क, मेनेजरको तर्फ अहिले ज्यादै थोरैमात्रको रुची गएको देखिन्छ । त्यस्तै रेस्टुरेन्टमा वेटर काम गर्ने नेपालीको पनि त्यत्तिकै अभाव रहेको सञ्चालकहरुको अनुभव छ । अधिकांश नेपाली रेस्टुरेन्टहरु त विद्यार्थीका भरमा चलेका छन् । 
 
स्टोर, ग्याँस स्टेशन, रेस्टुरेन्टमा काम गर्ने कर्मचारी अभाव हुनुको मुख्य कारण विशेषगरि ड्यालस–फोर्टवर्थ मेट्रोप्लेक्समा बढ्दो उद्योगधन्दा, सप्लाईचेन अन्तरगतका ठूला वेयरहाउस(गोदामघर)हरु हुन् । 
 
‘वेयरहाउसहरुले सुरुमै १४/१५ डलर प्रतिघण्टा र डेडी ओभरटाइमले गर्दा काम गर्ने वर्क परमिट, ग्रीनकार्ड र नागरिकता भएकाहरु त्यतातिर आकर्षित हुँदा यता समस्या देखिएको हो,’ टेक्ससका लामो समयदेखि कन्भिनेन्स स्टोर, ग्याँस स्टेशनको व्यवसाय गर्दै आएका कपिल अधिकारीको भनाई छ । भुकम्पपछि त्यतिखेर आएका र त्यसअघिदेखि अमेरिकामा रहेका विद्यार्थीहरुले समेत टेम्पोररी प्रोटेक्ट स्टाटस (टिपिएस) सुविधा पाएका छन् । त्यस्तो सुविधा पाएकाहरु पनि स्टोरभन्दा ठूला बहुराष्ट्रिय कम्पनीहरुमा काम गर्दै आएका छन् । 
 
अधिकारीका अनुभवमा कम्पनीहरुमा प्रशस्त ओभरटाइम पाइने लोभमा गएका कामदारहरु पछि फर्किएर स्टोरमै काम गरेका अनुभवहरु पनि प्रशस्तै छन् । 
 
विशेषगरि एमाजन, सामसङ, फेडेक्स, युपिएस, युएसपिएस, एक्सपिओ लजिस्टिक, विमानस्थल, भ्यालेट पार्किङ, थर्टीवान गिफ्ट, वालमार्ट, स्टापल्स, एसुरेन्ट सोलुसन, बेल हेलिकोप्टर, वेस्को एअक्राफ्ट लगायत झण्डै एकसयको हाराहारीमा ठूला वेयरहाउसहरु छन् । ती कम्पनीहरुले प्रतिघण्टा कम्तिमा ११ डलरदेखि अनुभवका आधारमा २० डलरसम्म सजिलै दिने भएका कारण ग्रीनकार्ड वाहक ९९ प्रतिशत नेपालीहरु ग्याँस स्टेशन, ग्रोसरी स्टोरमा काम गर्न मन गर्दैनन् ।
 
बहुराष्ट्रिय कम्पनीहरुले हप्ताको ४० घण्टाभन्दा माथि चढ्नासाथ नियमित पारिश्रमिकमा डेढीले थपेर भुक्तानी गर्छन् । यसले गर्दा कुनै कामदारले नियमित पारिश्रमिक घण्टाको १५ डलर प्राप्त गर्दै आएको छ भने ४० घण्टापछिका हरेक घण्टाको २२ डलर ५० सेन्टको दरले पाउँछन् । तर स्टोरहरुमा त्यो हुँदैन ।
 
कर्पोरेट रुपमा चलेका स्टोर, ग्याँस स्टेशनहरुले डेढीले भुक्तानी गरेपनि व्यक्तिले चलाएका ठाउँमा त्यो प्रावधान हुँदैन । बढीभन्दा बढी घण्टा काम गर्न चाहनेका लागि यस्ता स्टोरहरुले समय भने चाहे जति दिन्छन् । ग्याँस स्टेशन, ग्रोसरी स्टोरहरुमा काम गर्नेले हप्तामा ७०-८० घण्टासम्म काम गर्दै आएका छन् । 
 
व्यवसायीहरुका अनुसार स्टोर, ग्याँस स्टेशनहरुले काम गर्नेको अनुभव र मेहनत हेरेर बढीमा १३ डलरसम्म पाउँछन् । तर यति रकम कमैले मात्र प्राप्त गर्छन् । अधिकांश व्यबसायीले अहिले पनि घण्टाको ९⁄१० डलरभन्दा बढी दिँदैनन् । जसले गर्दा व्यबसायीले कामदार पाउन संकट परिरहेको देखिन्छ ।  
 
सानो लगानी गरेर व्यबसायमा हात हालेका नेपालीहरुले कामदार पाउनका लागि फेडेक्स, एमाजन, विमानस्थल, युपिएस, युएसपिएस जस्ता बहुराष्ट्रिय कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ । केही नेपालीहरुले त कामदारको अभाव टार्न डिभी परेकाहरुलाई खानेबस्ने सुविधा दिने प्रस्ताव सहित झिकाउन थालेका छन् । 
 
‘ग्याँस स्टेशनमा काम गर्दा लुटेराको डर भैरहने, कहिलेकाँही खराब ग्राहक आएर झगडा समेत गर्ने हुँदा दुई महिनामै काम छाडेर एमाजनमा काम सुरु गरेँ’ नाम सार्वजनिक नगरिदिन अनुरोध गर्दै एक नेपालीले भने । एकजना साथी मार्फत भारतीयको ग्याँस स्टेशनमा पुगेका उनी त्यहाँ काम गर्दा असाध्यै व्यस्त हुनुपर्ने, खाजा खाने र कतिपय समयमा त शौचालय जाने समेत फुर्सद नभएको बताउँछन् ।
 
‘नेपाली विद्यार्थीहरु नहुने हो भने त व्यबसाय बन्द गरेर हामी पनि एमाजनतिरै काम गर्न जानुपर्ने अवस्था आउँथ्यो’ अर्का एक नेपाली व्यबसायीले भने । विद्यार्थीलाई काममा लगाउँदा जोखिम पनि भएको र त्यसबाट दुबै पक्षलाई फाइदा समेत रहेको उनको बुझाई छ । 
 
‘उनीहरुसँग काम गर्ने कागजपत्र हुँदैन । तरपनि हामीले रिस्क मोलेर काम दिएका छाँै । त्यो रिस्क वहन गरेवापत हामीले कम्पनीहरुले दिने भन्दा कम पारिश्रमिककै काम लगाएका हौँ’ उनले भने । 
 
‘अनुभवी र इमान्दार कामदारको अहिले असाध्यै अभाव छ । केही समय अघि त निकै चर्को समस्या थियो । अहिले अलि मत्थर भएको छ’ झण्डै दुई दशकदेखि ड्यालस–फोर्टवर्थलाई आधारथलो बनाएर व्यबसाय गर्दै आएका कृष्ण भण्डारीले भने । जब कलेजहरुको शैक्षिकशत्र सुरु हुन्छ त्यतिखेर काम गर्नेको निकै अभाव हुने गरेको उनको अनुभव छ । समरको समयमा टेक्ससमा अन्य राज्यहरुमा अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरु ओइरिन्छन् । जब अगस्टको दोस्रो⁄तेस्रो साताबाट युनिभर्सिटीको शत्र सुरु हुन्छ, उनीहरु फर्किन्छन् । त्यसबेला निकै समस्या हुनेगरेको अनुभव व्यबसायीहरुको छ ।  
 
ग्रीनकार्डवाला नेपालीले त स्टोरमा का गर्नै छाडिसकेका छन् । जसले नेपालमा पनि व्यबसाय गरेको थियो, यहाँपनि केही समयपछि व्यबसाय गर्ने उद्वेश्य लिएका छन्, तिनीहरुले मात्र मन लगाएर स्टोरमा काम गर्छन् । बाँकी धेरैले केही समय स्टोर, ग्याँस स्टेशनमा गरेपछि वेयरहाउसहरुमा गइहाल्छन् ।
 
टेक्ससको श्रम कानुन कामदारमैत्री भन्दा पनि रोजगारदाता (व्यबसायीमैत्री) छ । राज्य, स्थानीय सिटीहरुले ठूला रोजगारदाताहरुलाई विशेष छुट, सहुलियत दिएर आकर्षित गरिरहेका छन् । त्यसो हुँदा पछिल्लो समयमा अमेरिकाका बिभिन्न राज्यहरुमा रहेका कम्पनीहरु धमाधम ड्यालस–फोर्टवर्थ सरिरहेका छन् । फेडेक्स एक्सप्रेसको विमानसेवाले आफ्नो हब एअरपोर्टनै फोर्टवर्थको एलाइन्स एअरपोर्टलाई बनाएको छ । जहाँबाट एमाजनको प्राइम एअरले समेत सेवा सञ्चालन गरिरहेको छ । 
 
टोयोटा मोटर कर्पोरेसनले केही समय अघि आफ्नो हेडक्वाटरनै नर्थ टेक्ससको प्लानोमा स्थानान्तरण गरेको छ । सूचना प्रविधिसँग संबन्धित धेरै कम्पनीहरुले अर्भिङको लसकोलिनस क्षेत्रमा धमाधम सरिरहेका छन् । 
 
ग्रीनकार्ड होल्डर, अमेरिकी नागरिकता लिइसकेका नेपालीहरु कमैले स्टोरमा काम गरेपनि विद्यार्थीहरुका लागि भने आकर्षणको रोजगारी बनेको छ । स्टोरमा ग्राहक नआएको समयमा होमवर्क गर्ने समय पनि हुने, स्टोरमै खान पनि पाइने सुविधाले गर्दा विद्यार्थीहरुका लागि यो काम निकै महत्वपूर्ण बनेको छ । त्यसैकारण अमेरिकाका बिभिन्न राज्यका युनिभर्सिटीमा अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरु केही सेमेस्टरपछिनै टेक्सस सर्ने गरेका छन् । यद्यपी स्टोर मालिकहरूले कामदार नपाएर दिनहुँ भेटघाटमा छलफलको विषयनै यही हुने गरेको छ । 
 
पहिले पहिले स्टोर मालिकहरूबीच भेटघाट हुँदा कामदारले रकम लुकाउने गरेको, सामान हराउने गरेको गफगाफको विषय हुन्थ्यो । अहिले कामदार नपाएको विषय कुराकानीको विषय हुने गरेको छ ।
 

शेयर गर्नुहोस:

0
Shares