ड्यालस (अमेरिका) – नेपाली समाज टेक्ससले नेपाली बालबालिकाहरुका लागि विद्यालयको नयाँ सेसन सुरु गरेको छ ।
आउँदो हप्तादेखि सुरु हुने स्कुलको नयाँ सेसनमा आइतबारमात्रै ९० जना विद्यार्थीहरु भर्ना भैसकेका छन् । ‘यसपटक नयाँ पाठ्यक्रम, तलबी शिक्षक–शिक्षिकालाई नियुक्ती गरेर पहिलेभन्दा अझै व्यबस्थित रुपमा स्कुल सञ्चालन गर्ने योजनामा छौँ’ प्रिन्सिपल विजयराज भट्टराईले भने ।
आइतबार आयोजना गरिएको छलफल कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माले बालबालिकाहरुले मनोरञ्जनका साथ नयाँ कुराहरु सिक्ने र अभिभावकहरुले समेत आफ्ना छोराछोरीहरुलाई स्कुलमा भर्ना गरेर केही हाँसिल गरेको अनुभूति हुनेगरि सञ्चालन हुने बताए ।
मन्दिरमा सञ्चालन हुने कक्षामा मातृभाषा नेपालीका अतिरिक्त गणित, नैतिक शिक्षाको अध्यापन हुनेछ । नेपाली समाज टेक्ससले सञ्चालन गरेको विद्यालयको लामो समयसम्म सञ्चालनको अनुभव भएका विजयराज भट्टराई प्रिन्सिपलमा भएको नियुक्ती, अभिभावक समितिमा शिक्षाप्रेमी तथा निकै सकृृय समिर ज्ञवाली र लामो समयसम्म नेपालको सार्वजनिक शिक्षाक्षेत्रको अनुभव हाँसिल गरेका भोजबहादुर बलायर स्कुल कोअर्डिनेटरमा भएको नियुक्तीले यसपटक विद्यालय सञ्चालन पहिलेभन्दा व्यबस्थित हुने आशा अभिभावकहरुको छ ।
‘उहाँहरुको नियुक्तीले विद्यालयप्रति विद्यार्थी र अभिभावक दुबैको आकर्षण हुने आशा मैले लिएको छु’ अभिभावक मनोहर उप्रेतीले प्रतिकृया दिएका छन् । अभिभावकहरुको चाहना आफ्ना बालबालिकाले जीवनउपयोगी शिक्षाका साथै मातृभाषा नेपाली लेख्न र पढ्न सकुन्, गणित उल्लेखनीय सुधार होस् भन्ने रहेको छ ।
अभिभावक समितिका अध्यक्ष ज्ञवालीले यसपटक विद्यालयको जग बलियोसँग बसाउन सकिएमा नयाँ भवनमा मन्दिर सरेपछि कल्पना गरेभन्दा ज्यादा व्यबस्थित हुने आशा व्यक्त गरेका थिए ।
छलफल कार्यक्रममा स्कुललाई कसरी व्यबस्थित रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा नेपाली समाजका पदाधिकारीहरु र विद्यालय सञ्चालनको जिम्मा पाएको टिमले भनाईहरु राखेका थिए । त्यस्तै अभिभावकहरुले भने हप्तामा दुई दिन हुने छुट्टीमा बच्चाहरुलाई ल्याइसकेपछि उनीहरु रमाउने र केही सिक्ने वातावरण हुनुपर्ने सुझाव दिएका थिए ।
यसपटक तीन महिनाका लागि प्रति विद्यार्थी ७५ डलर शुल्क कायम गरिएको छ । यो शुल्क निकै सामान्य भएको र अभिभावकहरुलाई भर्ना गरिसकेका विद्यार्थीहरु ल्याउनका लागि मनोवैज्ञानिक दवावका लागि मात्र शुल्क तोकिएको धारणा नेपाली समाजका पदाधिकारीहरुको छ ।
आउँदो साता पनि अभिभावकहरुले आफना बालबालिकालाई भर्ना गर्न सक्नेछन् । स्वयमसेवका लागि भने यसपटक विशेष रुपमा तालिम दिने योजना रहेको प्रिन्सिपल भट्टराईले जानाकारी दिए ।







प्रतिक्रिया