हिमालयखवर संवाददाता
अमेरिका- बहुमत रिपव्लिकन सिनेटरहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पकै पक्ष्ँमा मत दिएकाले राष्ट्रपति विरुद्धको महाभियोग प्रकृया अव छिटो टुंगिने भएको छ ।
राष्ट्रपति ट्रम्प विरुद्ध आएको महाभियोगमा साक्षी वोलाउने वा नबोलाउने भन्ने प्रश्नमा शुक्रवार भएको मतदानमा ५१ रिपव्लिकन सिनेटरले पार्टी लाइन अनुसार महाभियोगको विपक्ष र ट्रम्पकै पक्षमा मत दिएका थिए ।
यस अनुसार सिनेटमा राष्ट्रपतिलाई लागेको आरोपमा साक्षी वोलाउने पक्ष्ँमा ४९ मत मात्र परेको थियो । दुई जना रिपव्लिकन सिनेटरले भने पार्टी लाइन विपरित ट्रम्पको विपक्ष्ँमा मत दिएका थिए ।
अव उक्त महाभियोगका वारेमा अन्तिम मतदान बुधवार हुने तय भएको छ । केही दिन देखि सिनेटमा राष्ट्रपतिलाई लगाईएको महाभियोगका वारेमा लगातार बहस, प्रश्न उत्तर भईरहेको थियो ।
अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधिशले सिनेटको वैठक संचालन गरिरहेका छन् ।
यस अघि राष्ट्रपतिको विपक्षी पार्टी डेमोक्र्याटको बहुमत रहेको कांग्रेसले महाभियोग प्रस्ताव स्विकृत गरेको थियो । त्यसपछि अन्तिम निर्णयका लागि यो प्रस्ताव सिनेटमा गएको हो ।
सिनेटमा डेमोक्र्याट पार्टी अल्पमतमा छ । महाभियोग स्विकृत हुन दुई तिहाई सिनेटरको समर्थन चाहिन्छ ।
शुक्रवारको मतदानपछि झण्डै ६ महिना देखिको महाभियोग प्रकृयाले पुर्ण विराम तर्फ गएको हो । राष्ट्रपतिको निर्वाचन हुन अव करिव ९ महिना मात्र बांकी छ । त्यसैले आउने ९ महिना अमेरिकी राजनीति राष्ट्रपति चुनाव वरपरनै घुम्ने छ ।
रिपव्लिकनलाई सिनेटर र कांग्रेसम्यानहरुलाई आफ्नो पक्षमा पार्न सक्नु ट्रम्पको मुख्य सफलता मानिएको छ । यो उनको पार्टीगत जीत हो । अमेरिकी अर्थतन्त्र बलियो, बरोजगारी दर आधा शताव्दी यताकै न्यून हुुनु, स्थिर तेल मूल्य, शेयर बजारमा उछाल ट्रम्पका सफलता हुन् ।
तर, अन्तराष्ट्रिय सम्वन्धमा भने ट्रम्प आलोचित भएका छन् । विशेष गरी अमेरिकी पक्ष्ँधर देशहरु ट्रम्प नीति प्रति खुशी छैनन् । तर, यसको असर आम अमेरिकी मतदातामा खासै परेको छैन । वासिंटनको राजनीतिक र बौद्धिक बृत्तमा अन्तराष्ट्रिय सम्वन्ध चासो विषय भएपनि समान्य आम्दानी हुने मतदाता ट्रम्प प्रति बेखुशी छैनन् । यो अवस्थामा ट्रम्पले आउने कार्यकालका लागि पनि कडा प्रतिस्पर्धा दिने छन् । तस्बिर: सामाजिक संजाल







प्रतिक्रिया