नेपाल

गैरकानुनी रुपमा यात्रु बोक्ने चौध निजी सवारीसाधन कारबाहीमा

गैरकानुनी रुपमा यात्रु बोक्ने चौध निजी सवारीसाधन कारबाहीमा


काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कमा निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर धमाधम मान्छे ओसारपसार गर्ने गरेको पाइएको छ । 
 
सार्वजनिक सवारीसाधनले मात्र यात्रु बोक्न पाउने कानुनी व्यवस्था भए पनि पछिल्लो समय निजी नम्बर प्लेटका सवारीसाधनले भाडा लिएर धमाधम मान्छे बोक्ने गरेको पाइएको हो । 
 
महानगरीय प्रहरी वृत्त नयाँ बसपार्कले आज चलाएको विशेष अप्रेशनमा गैरकानूनी रुपमा यात्रु बोक्ने १४ निजी सवारीसाधनलाई कारबाही गरेको छ । निजी नम्बर प्लेटका सवारी साधनले नयाँ बसपार्कबाट यात्रुलाई उपत्यकाका विभिन्न ठाउँमा पु¥याएर भाडा लिँदै आएका छन् । 
 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले निजी नम्बर प्लेटका सवारीसाधनले भाडा लिएर यात्रु ओसारपसार गर्ने गरेको सूचनाका आधारमा १४ सवारी साधनलाई पक्राउ गरिएको जानकारी दिए । 
 
“अहिले सम्झाई बुझाई गरेर छाडेका छौँ, आगामी दिनमा पनि निजी नम्बर प्लेटका सवारीसाधनले यात्रुसँग भाडा लिएको थाहा पाएमा कानूनबमोजिम कारबाही गर्नेछौँ”, उनले भने । 
 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले गैरकानुनी रुपमा निजी सवारीसाधनले यात्रु बोक्न नपाइने बताए । 
 
“अवैधानिक, गैरकानूनी रुपमा चलेका यस्ता सवारीसाधनलाई तत्काल रोक्न हामी सरकारलाई माग गर्दछौँ”, उनले भने । 
 
निजी सवारीसाधनले यात्रु बोके यात्रु बोक्नका लागि दर्ता भएका सार्वजनिक सवारी साधनले के गर्ने ? उनले प्रश्न गरे । 
 
यसअघि पनि गैरकानूनी रुपमा टुटल तथा पठाओले यात्रु बोक्दै आएका थिए । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार प्रयोजन विपरीत सवारीसाधन चलाए रु दुई सयदेखि एक हजार जरिवाना हुने व्यवस्था छ ।