हिमालयखबर संबाददादा
ड्यालस (टेक्सस) – टेक्ससको ड्यालसमा रहेका नेपालीहरुको सबैभन्दा सकृय संस्था ‘नेपाली समाज टेक्सस’ को अध्यक्षमा दिनेश शर्मा निर्विरोध भएका छन् ।
आइतबार साँझसम्म मनोनयन दर्ता गर्ने समय रहेकोमा अध्यक्षमा शर्माको मात्र उम्मेदवारी परेको थियो । अध्यक्षमा शर्माको मात्र उम्मेदवारी परेका कारण उनी निर्विरोध अध्यक्ष भएका हुन् । निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा भने गरेको छैन । उम्मेदवारी उपर दावी विरोध गर्ने समय एक दिन बाँकी रहेकोले उम्मेदवारहरुको नामावली भने सार्वजनिक नगरिएको निर्वाचन समितिले जनाएको छ ।
निर्विरोध भएका शर्मा पेशाले सूचना प्रविधिका इन्जिनिएर हुन् । वहालवाला अध्यक्ष सुमन थापा पुनः उम्मेदवार हुने चर्चा चलेपनि अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरे ।
अध्यक्षमा मात्र नभएर अन्य सबै पदहरुमा निर्विरोध भएको छ । वरिष्ठ उपाध्यक्षमा शेरमन निवासी राजेन्द्र वाग्लेको मात्र उम्मेदवारी परेको छ । वाग्ले पनि स्वतः निर्विरोध भएका छन् ।
महासचिवमा भानु खरेलको मात्र उम्मेदवारी परेको छ । तर निर्वाचन समितिले दिएको समयभित्र मनोनयन शुल्क दाखिला गर्न खरेल असमर्थ भएपछि यो पद खाली भएको छ । आइतबार सार्वजनिक विदाको दिन परेको र तीनहजार डलरको मनी अर्डर तयार गर्न खरेललाई प्राविधिक रुपमा अप्ठेरो परेको बताइएको छ । महासचिवको मनोनयन निर्वाचित कार्यसमितिले गर्ने बताइएको छ ।
निर्वाचन समितिले व्यक्तिगत चेक र नगद अस्विकार गरेर पनि उम्मेदवार हुन इच्छुकलाई अप्ठेरो बनाएको गुनासो सदस्यहरुले गरेका छन् ।
कार्यसमितिको उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, युथ कोअर्डिनेटरमा एकएकजनाको उम्मेदवारी परेको छ । त्यस्तै कार्यकारिणी सदस्यमा ७ जनाको उम्मेदवारी परेको छ । कार्यकारिणी सदस्य ६ जनामात्र रहने विधानमा व्यबस्था छ ।
चर्को उम्मेदवारी शुल्कले पनि यसपटक उम्मेदवार हुन चाहनेहरु हच्किएका छन् । जसले गर्दा उम्मेदवारी दर्तानै गरेनन् ।
अध्यक्षमा उम्मेदवारी दर्ता गर्न पाँचहजार डलर शुल्क तोकिएको छ । त्यस्तै उपाध्यक्ष, महासचिव, र कोषाध्यक्षका लागि तीनहजार डलर मनोनयन शुल्क तोकिएको छ । उपमहासचिव, सहकोषाध्यक्षलाई दुईहजार, आइटी, युथ र महिला कोअर्डिनेटरलाई एकहजार र कार्यसमिति सदस्यलाई ५ सय डलर शुल्क तोकिएको छ ।
नवनिर्वाचित अध्यक्ष शर्माले पनि मनोनयन शुल्कका कारण धेरै उम्मेदवारी नपरेको अनुमान गरे । ‘प्रजातान्त्रिक प्रकृयामा अझै धेरै साथीहरु सहभागी हुनुहुनेछ भन्ने मैले आशा लिएको थिएँ, तर शुल्क चर्को भएको धेरै साथीहरुको गुनासो छ ।’
अध्यक्ष शर्माले आफुले आउँदो दुई वर्ष बालबालिका, युवा र वृद्धहरु केन्द्रित कार्यक्रमहरु गर्ने योजना सुनाए ।
नेपाली समाज टेक्सस ड्यालसको मात्र नभएर टेक्ससभरिकै नेपालीहरुको अग्रणी संस्था हो । यो संस्थाको नेतृत्वमा रहनुलाई निकै प्रतिष्ठाका रुपमा लिइन्छ । बैकुण्ठ थापा, गौरीराज जोशी, राम सी पोखरेल, डा. प्रेम अधिकारी, कृष्ण लामिछाने लगायतले बिभिन्न समयमा नेतृत्व गरिसकेका छन् ।






प्रतिक्रिया