मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा ‘नमुना स्काउट क्याम्पोरी -२०७६’ सम्पन्न

चितवनमा ‘नमुना स्काउट क्याम्पोरी -२०७६’ सम्पन्न


चितवन । नेपाल स्काउट चितवन र भृकुटी बोर्डिङ स्कुलको सहकार्यमा कात्तिक २२ देखि २४ गतेसम्म सञ्चालित नमुना स्काउट क्याम्पोरी एक समारोहबीच सम्पन्न भएको छ । 
 
उक्त क्याम्पोरीमा १४ जिल्लाका ४८ विद्यालयका ११७१ स्काउट छात्रछात्रा सहभागी भई विभिन्न प्रतियोगितात्मक, साहसिक, मनोरञ्जनात्मक, बौद्धिक, सामाजिक सेवा र धार्मिक सहिष्णुता जगाउने कार्यक्रम गरिएको नेपाल स्काउटका जिल्ला आयुक्त तीर्थराज न्यौपानेले जानकारी दिए । 
 
सो क्याम्पोरीमा रोभर / रेन्जर र लिडरसमेतको सहभागिता रहेकाले जम्बो क्याम्पमा १३ सय जनाको आवासीय कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला आयुक्त तीर्थराज न्यौपानेको अध्यक्षतामा उद्घाटन भएको समारोहमा पूर्वजिल्ला आयुक्त भवानीप्रसाद पौडेलले स्काउटको महत्वमाथि प्रकाश पारेका थिए । भृकुटी बोर्डिङ स्कुलका प्रिन्सिपल एवम् सहआयोजक रामजी पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 
 
समारोहमा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले चितवनमा स्काउटको गतिविधि प्रशंसनीय रहेको उल्लेख गरे । स्काउटले हरेक कार्यमा सहभागी भई सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न सघाउ पु¥याएको विचार व्यक्त गरे । 
 
यस्तै, जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीले स्काउट एक अनुशासित, स्वावलम्बी र भाइचाराको सम्बन्ध स्थापित गर्ने संस्था भएकाले स्काउटका हरेक सामाजिक कार्यप्रति आफू निकै प्रभावित भएको बताए । 
 
कार्यक्रमका प्रमुख अतिथि सांसद् एवम् कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले स्काउटको महत्वमाथि प्रकाश पार्दै स्काउटले अझै अनुशासित कार्यमा अघि बढ्न प्रेरित गरे ।   
 
यस्तै, सांसद् मिलनबाबु श्रेष्ठले चितवनमा लामो समयदेखि स्काउटको सक्रियता रहिआएको र यस्तो अनुशासित संस्था हरेक विद्यालयमा अपरिहार्य रहेको बताए । 
 
अर्का सांसद् घनश्याम दाहालले आफू स्काउटका हरेक कार्यमा संलग्न रहँदै आएको बताउँदै देशका लागि यो संस्थाको आवश्यकता अझै महत्वपूर्ण रहेकाले सबैले सहयोग गर्नुपर्ने उल्लेख गरे । 
 
समारोहमा सहआयोजक भृकुटी बोर्डिङ स्कुलका प्रिन्सिपल एवम् कार्यक्रम संयोजक रामजी पाण्डेले नमुना स्काउट क्याम्पोरी सम्पन्न पार्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे । 
 
समारोहको शोभायात्रामा न्यू होराइजन बोर्डिङ स्कुल प्रथम, प्रगति पाठशाला द्वितीय, लिटिल स्टार बोर्डिङ स्कुल तृतीय र गुरूकुल स्कुलले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । अन्तरविद्यालय नृत्य प्रतियोगितामा न्यू होराइजन बोर्डिङ स्कुल प्रथम, अर्किड स्कुल द्वितीय, ग्रीनल्याण्ड पब्लिक स्कुल तृतीय तथा चित्रवन बोर्डिङ स्कुलले सान्त्वना स्थान प्राप्त गरेका थिए ।